१४ भदौ ०७४, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा हुने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको दुवै निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने निर्णय गरेको थियो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको आग्रह अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाका दुईवटा मतपत्र हुनेछन् । एउटा मतपत्र प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र अर्को समानुपातिक तर्फको मतपेटिकामा मत खसाल्नु पर्ने हुन्छ ।
पहिलो चरणमा मंसिर १० गते हिमाली जिल्लाहरुमा र सुगम जिल्ला, क्षेत्रहरुमा २१ गते दोस्रो चरणमा दुवै तहका निर्वाचन हुनेछन् ।
सचिवहरुको जिम्मेवारीमा हेरफेर
मन्त्रिपरिषद्को बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेर पनि गरेको छ । क्षेत्रीय प्रशासक शम्भु कोइराला भूमि सुधार मन्त्रालयमा सरुवा भएका छन् भने भूमि सुधारका कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालय पठाइएको छ ।
निर्वाचन आयोगमा रहेका महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा सरुवा भएका छन् भने पर्यटन मन्त्रालयका शंकर अधिकारी निर्वाचन आयोगमा सरुवा भएका छन् । सचिव कृष्णराज बिसी खानेपानी तथा सरसफाई मन्त्रालयमा पुगेका छन् ।