२४ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए ।
पद तथा गोपनियताको सपथ लिए लगतै सिंहदरबार आएका देउवाले पदभार सम्हालेका हुन् ।
देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे ।
यस्तै अन्तर प्रदेश समन्वयका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् ।
अनावश्यक वक्तव्य र अन्तरवार्ता दिँदै हिँड्न रोक
यसैगरी नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले अनावश्यक वक्तव्य र अन्तरवार्ता दिँदै हिँड्न रोक लगाएका छन् ।
बुधबार पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री शर्माले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने प्रतिवद्धता जनाएका छन् ।
‘सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनर्संरचना गरिनेछ ।’ उनले अघि भने, पत्रिकाबाजी गर्ने, वक्तव्य दिने वा अनावश्यक अन्तरवार्ता दिँदै हिड्ने कुरा बन्द गरिनेछ ।’
सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ सुदृढ गरिने, जनता र सिपाहीबाट हुने मूल्यांकनलाई सही मानिने बताउँदै गृहमन्त्री शर्माले केही दिनमा नै नयाँ योजना ल्याउने बताए ।