२२ भदौ ०७४, बिराटनगर । सरकारले असार, साउन र भदौ महिना नदी वा खोलाबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन एवं निकासीमा रोक लगाए पनि स्थानीय गछिया खोला र खदम खोलाबाट भइरहेको अवैध रुपमा उत्खनन र निकासी कार्यमा प्रहरी संलग्नता रहेको समाचार आएपछि स्थानीय प्रहरी प्रशासनले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले गछिया प्रहरी चौकीका हवल्दार सीताराम कोइरालालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
मोरङका प्रहरी उपरीक्षक अरुण बीसीले गछिया खोलाबाट अवैध रुपमा ढुङा, गिट्टी र बालुवाको अबैध ब्यापारलाई प्रहरीले संरक्षण गरेको घटनाबारे हवल्दार कोइरालालाई नियन्त्रणमा लिएर छानविन थालिएको जानकारी दिए ।
गछिया प्रहरी चौकीमा कार्यरत हवल्दार कोइरालालाई बुधबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको र आज थप अनुसन्धानका लागि जिल्ला ल्याइने प्रहरी उपरीक्षक बीसीले जानकारी दिए ।
मोरङको गछिया खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र निकासीमा प्रहरीले लखेटे जस्तो गर्ने, आफूहरु भागे जस्तो गर्ने गरेको स्थानीयले बताएका छन् ।
अनलाइनखबरसँगको भिडियो स्टोरीमा स्थानीयले प्रहरीहरुले खेदाएजस्तो गर्ने र आफूहरुले भागेजस्तो गर्ने गरेको बताएका हुन् ।
स्थानीय गछिया प्रहरी चौकीका हवल्दार कोइराला, इञ्चार्ज सुरेन्द्र ढुंगेल र केराबारी प्रहरी चौकीका इञ्चार्ज रामकाजी श्रेष्ठको संरक्षणमा गछिया खोला र खदम खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन एवं निकासी हुने गरेको स्थानीयको आरोप छ ।