फरार सूचीमा रहेका रेशम चौधरीलाई १ करोड ७४ लाख राहत

३ असार ०७४, धनगढी । थारुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको अाजकाे नागरिक दैनिकमा खबर छ ।

प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सबैभन्दा बढी १ करोड ७४ लाख क्षतिपूर्ति पाएका छन ।

यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय राहात पाएका छन् ।

मन्त्रिपरिषदले बिशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन ।

यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन ।

रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए । नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए ।

उनको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सूचीमा छन् । उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता गराइएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरमा पीडितलाई बाेलाएर शुक्रबार राहात बितरण गरिएको हो ।

८८ जना पीडित मध्य ४० जनालाई राहात वितरण गरिसकिएको प्रजिअ रिजालले बताए । बाँकी शनिबार वितरण गरिने उनको भनाई छ ।

८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए ।

थारुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए ।

आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो ।

कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहट पक्षले प्रशासनद्वारा निषेधित एरिया टिकापुरमा प्रवेश गर्न रोक लगाउन खटिएका सुरक्षाकर्मीलाई भाला र घरेलु हतियार प्रयोग गरि हत्या गरिएको थियो ।

सरकारले घटनामा मारिएकालाई सहिद घोषणा गर्दै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिएको थियो ।

तपाइको मत