११ भदौ ०७४, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी पक्षमा देखिएकाले निर्वाचनको माहोल बनेको बताएका छन् ।
नेता पौडेलले तनहुँको दमौलीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा चुनावविरोधी शक्तिहरु निर्वाचनमा आएकाले प्रदेश र संघको निर्वाचन निर्धारित मिति मै हुने दाबी गरेका हुन् ।
उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे ।
यसैबीच, नेता पौडेलले पार्टी नेतृत्वको हचुवा शैलीले कांग्रेस कमजोर बनेको आरोप लगाउँदै नेतृत्वले सबैलाई नसमेट्दा स्थानीय तह चुनावमा पार्टीले क्षति व्यहोरेको समेत दाबी गरे ।
‘हचुवा शैलीमा काम गर्ने नेतृत्वको परिपाटीले कांग्रेस पार्टी शक्तिहीन हुँदै गइरहेको छ,’ नेता पौडेलले भने, ‘यो शैली नबदल्ने हो भने कांग्रेसले थप क्षति व्यहोर्ने छ ।’
उनले पार्टीको विभाग र प्रदेश समिति गठन नहुँदा कठिनाई झेल्नु परेको बताए ।