बाढी पीडितलाई सहयोगी हातहरु जुट्दै

१० भदौ ०७४, राजविराज । बाढीले घरबारविहीन भई कष्टकर जीवन बिताइरहेका पीडितहरुलाई विभिन्न संघ संस्थाद्वारा एकपछि अर्को राहत सामाग्री दिने क्रम तीब्र बनेको छ ।

यसैक्रममा शनिबार विभिन्न संघ–संस्थाद्वारा जिल्लाको देउरी भरुवा, लौनिया, सकरपुरा, रम्पुरा मल्हनियाँ, छिन्नमस्ता र महदेवाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।

सरभाईवर्स नेपालले स्थानीय जि.पी.कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरको संयोजनमा जिल्लाको सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनिया र देउरी भरुवाका २ सय २५ जना बाढी पीडित परिवारलाई ५ लाख ५५ हजार रकम बराबरको खाद्यान्न, लत्ता कपडा, बाल्टिन, जग, म्याट लगायतका राहत सामाग्री वितरण गरेका हुन् ।

सरभाईवर्स नेपालका कार्यकारी निर्देशक जयराम पुरासैनी, जि.पी.कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरका अध्यक्ष राम कुमार चौधरी, मानव अधिकार शान्ति समाजका महासचिव उत्तम पुरासैनी लगायतले बाढी प्रभावित क्षेत्रमै पुगी पीडितहरुलाई राहत वितरण गरेका थिए ।

यस्तै नेपाल फर्मास्युटिकल्स प्रा.लि. जीतपुर वीरगञ्ज परिवार तथा सोही स्थानका समग्र ट्रेड युनियनले संयुक्त रुपमा छिन्नमस्ता गाउँपालिका ५ लोखरमका बाढी प्रभावित २ सय ९ परिवारलाई खाद्यान्न, साबुन र औषधि वितरण गरेको छ ।

प्रा.लि.की सहायक अधिकृत सावित्री नेपाल, युनियनका अध्यक्ष मनोज कुमार चौधरी लगायतले पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरे ।

यस्तै मातृभूमिका लागि पर्वत सेवा समाज नेपालको सहयोग तथा स्थानीय सेतु सामुदायिक मानव अधिकार मञ्चको संयोजनमा पनि शनिबार जिल्लाको महदेवा गाउँपालिकाका १ सय ५ बाढी पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत सामाग्री वितरण गरेको छ ।

तपाइको मत