८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा विभिन्न समयमा फुटेका क्रान्तिकारी माओवादीका रामबहादुर थापा ‘बादल’ लगायत पार्टी तथा नेताहरु भित्रिएपछि एकता केन्द्रबाट एमाओवादी बनेर भित्रिएका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पदीय बरियताक्रमा प्रचण्डपछि दोस्रो स्थान नभए पार्टी छा्ड्ने सम्भावना बढेको छ ।
पार्टी जुटेको ३ दिन नबित्दै माओवादी केन्द्रमा पदीय विषयमा ठूलो लफडा छ । यससँगै भर्खरै एकतामा आएका रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बीचको टकराव सतहमा आएको छ ।
पार्टीका नेता एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘बादल’को आगमनसँगै आफूहरु बाहिरिन सक्ने संकेत दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै उनले पार्टीबाट बाहिरिने चेतावनी दिएका हुन् । आफूलाई छाडेर बादललाई काखी च्यापेको खण्डमा भोलिपल्टै पार्टी फुटाउने उनको भनाई थियो ।
‘पार्टी जुट्नु राम्रो कुरा हो तर पार्टी जुट्नुको नाममा अर्को फुट सिर्जना नहोस् भन्ने मेरो चाहना छ’ श्रेष्ठले भने, ‘तपाईले मलाई छाडेर बादललाई काखी च्यापेको खण्डमा म भोलिपल्टै पार्टी छाडेर हिड्छु ।’
उनले पदीय जिम्मेवारीका क्रममा बादललाई आफूभन्दा मुनिको जिम्मेवारी दिनुपर्ने समेत बताए । बादल लगायतका समुहलाई पार्टीमा हालीमुहाली गर्न दिइएको खण्डमा पार्टी छाड्ने उनको अर्को चेतावनी थियो । प्रचण्डले भने पार्टीमा भएका सबैलाई मिलाएर लैजाने आश्वसन दिएका थिए ।