२१ साउन ०७४, डोटी । गएराति बोगटान गाउँपालिका–६ गगुडाधारमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
दिपायलबाट यात्रु लिएर बोगटान हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे सडकबाट करिब पाँच सय मिटर तल खस्दा ९ जनाको मृत्यु र ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले दिएको जानकारीका अनुसार दुर्घटनामा बोगटान गाउँपालिका – १, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको छ ।
यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक विष्णु नेगीको ज्यान गएको छ ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।