भरतपुर महानगरको मतगणना जारी, एमालेका ज्ञवालीको अग्रता कायमै

१३ जेठ ०७४, चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि रोकिएको गणना कार्य पुनः सुरु भएको छ ।

शनिबार बिहान वडा नः १७ को मतगणना कार्य चलिरहेका बेला १२५ मत अर्धकट्टीसहितको भेटिएपछि दलहरु बीच सदर मान्ने कि बदर भन्ने  विवाद भएको थियो । विवादलगत्तै २ घन्टा रोकिएको गणना पुनः सुरु भएको हो ।

दल र निर्वाचन आयोगका प्रतिनिधीहरु बीच निर्वाचनसम्बन्धी निर्देशिकाको व्यवस्था अनुसार गणना गर्ने सहमतिपछि गणना सुचारु भएको हो ।

निर्वाचनसम्बन्धी निर्देशिकाको बुदाँ नं. ३ मा दुरुस्त मतपत्र अर्धकट्टीसहित पाइएमा मतपत्रको अर्धकट्टी हटाएर मतगणना गर्ने व्यवस्था रहेको र सो मत सदर गर्ने स्पष्ट व्यवस्था छ ।

मतगणना रोकिनु अघिसम्मको अवस्थामा एमालेका देवी ज्ञवालीले ३७२६६ मत ल्याएर अग्रतालाई कायम राखेका छन् भने माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालले ३५६६७ मत ल्याएकी छन् । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३९४२७ र एमालेकी दिब्य आर्चायले ३३९३५ मत ल्याएकी छन् ।

महानगरपालिकामा अब ५ वटा वडाको मात्रै मतगणना गर्न बाँकी छ ।

तपाइको मत