भारतीय प्रहरीले गोली प्रहार गरेपछि कञ्चनपुरको अवस्था तनावपूर्ण

२७ फागुन, काठमाडौं । भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट बिहीबार कञ्चनपुरमा नेपालीको हत्या भएको बिरोधमा सर्वसाधारणको प्रदर्शनमाथि भारतीय प्रहरीले आज शुक्रबार समेत गोली प्रहार गरेपछि अवस्था झनै तनावपूर्ण बनेको छ ।

बिहानैदेखि हजारौं संख्यामा सीमाक्षेत्रमा जम्मा भएका नेपालीहरुले भारतीय ज्यादतीका विरुद्ध प्रदर्शन गरेपछि एसएसबीले ७ राउण्ड फायर गरेका थिए । नेपालीहरुलाई लक्षित गर्दै फायर गरेपछि सशस्त्र प्रहरीले समेत जवाफी फायर गरेको स्थानीय प्रेमसिंहले बताएका छन् ।

यसअघि बिहान भन्सार कार्यालयको ब्यारियर भत्काउँदै नेपालीहरुले भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खोज्दा झडप भएको थियो ।
बिहीबारको घटनाको बिरोध गर्दै माओवादी केन्द्रले ७ नं. प्रदेश बन्दको घोषणा गरेको छ ।

बिहीबारको घटनापछि भारतको लखिमपुर खिरीका र कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीबीच उक्त क्षेत्रमा देखिएको कल्भर्ट सम्बन्धी विवाद साम्य गर्नवार्ता भएपनि सथानीय जनताले बिरोध जारी नै राखेका छन् ।

गौतमको पोष्टमार्टम रिपोर्ट भारतीय सीमा सुरक्षा बललाई उपलब्ध गराउन भारतीय दूतावासको आग्रह

कञ्चनपुरमा मारिएका नेपाली नागरिक गोविन्द गौतमको पोष्टमार्टम रिपोर्ट भारतीय सीमा सुरक्षा बललाई उपलब्ध गराउन भारतीय दूतावासका अधिकारीले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

कञ्चनपुरको गोलीकाण्डबारे एसएसबीले छानविन तथा अनुसन्धान गर्ने भन्दै त्यसमा सहयोगका लागि पोष्टमार्टम तथा फरेन्सिक रिपोर्ट कुटनीतिक माध्यमबाट उपलब्ध गराइदिन भारतले नेपालसँग आग्रह गरेको हो ।

भारतीय दूतावासका कार्यबाहक राजदूत बिनय कुमारले शुक्रबार बिहान परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसँग भेट गरेका छन् । सो भेटमा उनले कञ्चनपुर घटनाबारे अनुसन्धान थालिने बताउँदै त्यसमा सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

भेटमा बिनयकुमारले मृत्यु भएका नेपाली नागरिक समवेदनासमेत प्रकट गरेको दूतावासले जनाएको छ ।

साथै सीमाक्षेत्रमा भारतको लखिमपुर खेरी र नेपालको कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीहरुले हिंसा भड्किन नदिने र शान्ति सुव्यवस्था कायम राख्ने बारेमा छलफल भएको थियो ।

समस्या समाधानका लागि केन्द्रीय स्तरबाटै पहल गर्ने सहमति

नेपाल र भारतका अधिकारीहरुबीच सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने र घटनाको छानबिन गर्ने सहमति भएको छ । एसएसबीको गोलीबाट नेपाली नागरिक मारिएपछि भएको समस्या समाधानका लागि केन्द्रीय स्तरबाटै पहल गर्ने सहमति पनि भएको छ ।

कलभर्ट निर्माण गर्ने विषयमा भएको विवादले सीमा क्षेत्रमा तनाव भएपछि शुक्रबार नेपाल र भारतका अधिकारीहरुको संयुक्त बैठक कैलालीको गौरीफन्टा नाकामा बसेको थियो ।

वार्तामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान बिभागका एसपीहरु क्रमशः अर्जुन चन्द, गणेश संग्रौला र योगेन्द्र केसी सहभागी थिए ।

त्यस्तै भारतीय तर्फबाट लखिमपुर खिरी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाश दीप, भारतीय एसएसबीका कमाण्डेट बीरेन्द्र सिंह सिन्धु र पलियाका भारतीय प्रहरी एसपी मनोज कुमार झा सहभागी थिए ।

बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले हिजोको घटनालाई केन्द्रीय स्तरबाट विवाद मिलाउन पहल गरिने बताए । छानविन पछि गोली कसले चलाएको प्रष्ट हुने उनले बताए । दुई देशका अधिकारीहरुको वार्तामा भारतीय पक्षले आफूहरुले गोली नचलाएको दाबी दोहोर्‍याएको थियो ।

मृतक गोविन्द गौतमलाई शहीद घोषणा गरिने

मृतक गोविन्द गौतमलाई सरकारले शहिद घोषणा गर्ने र परिवारलाई १० लाख रुपैयाँ दिने बताएको छ ।

सरकारले गौतमका बच्चाहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, उच्च सम्मानका साथ अन्त्येष्टि गर्ने, परिवारका एकजनालाई रोजगारको व्यवस्था मिलाउने घोषणा गरेसँगै नेकपा माओवादी केन्द्रले सात नम्बर प्रदेश बन्द लगायतका सबै कार्यक्रम फिर्ता लिएको छ ।

तपाइको मत