मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई प्रशिक्षण कार्यक्रम सुरु

२१ कार्तिक ०७४, काठमाडौं । निर्वाचन आयोगले मंसीर १० र २१ गते हुने  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई क्षेत्रीयस्तरमा प्रशिक्षण कार्यक्रम धुलिखेलमा सुरु गरेको छ ।

आयोगले आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको शुभारम्भ  प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले गरेका हुन् । कार्यक्रम मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालन हुनेछ ।

यादवले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउँदै जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको बताए । जनताको अमूल्य मतलाई खरिदबिक्री तथा वस्तुु विनिमयको साधन जस्तो नबनाउन राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो ।

उनले राजनीतिमा प्रत्यक्ष देखिएका कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै कर्मचारीको खटनपटन बस्तुगत र निष्पक्ष हुनुपर्ने बताए ।

उनले आचारसंहिता विपरित शहर बजार र सार्वजनिक स्थल फोहोर हुने गरी कसैले पर्चा, पम्प्लेट आदि प्रचार सामाग्री टांगेको भए हटाउन स्थानीय तह र प्रशासनलाई निर्देशन दिए ।

आयोगका प्रवक्ता नवराज ढकालले दुवै चरणको निर्वाचनलाई सफल बनाउन ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइने जानकारी दिँदै मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पु¥याउनुपर्ने सेवाका विषयमा तल्ला तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकहरुलाई निर्देशन दिए ।

प्रशिक्षणमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिंखडा तथा जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेल सहित काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता छ । क्षेत्रीयस्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यस जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने छन् ।

तपाइको मत