९ जेठ ०७५, काठमाडौं । केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा एभरेष्ट बैंक लिमिटेडमा तलब भत्ता बापतको ४२ लाख रुपैयाँ रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले अरु सबै सम्पत्ति भने पत्नी राधिकाको नाममा रहेको उल्लेख गरेका छन् । जस अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा साढे एक रोपनी जग्गामा बनेका तीन तले दुईवटा घर ओली पत्नी राधिका शाक्यको नाममा रहेको छ । त्यसैगरी राधिकाकै नाममा झापाको पृथ्वीनगरमा आफैँले कमाएको १० कठ्ठा जग्गा रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी ओलीसँग स्वआर्जन गरेको करिब १८ तोला गरगहना पनि रहेको उल्लेख गरिएको छ ।
राधिकाकै नाममा माछापुच्छ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ रहेको पनि उल्लेख गरिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंककी प्रथम श्रेणीकी पूर्वअधिकृत राधिकाको नाममा सेयरका रुपमा २५ लाख रुपैयाँ राष्ट्रिय बचतपत्र पनि रहेको उल्लखे गरिएको छ ।
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को सम्पत्ति २० हजार मात्र ।
गृहमन्त्री रामबहादुर थापाको सम्पत्ति एभरेष्ट बैंकको खातामा २० हजार मात्र भएको उल्लेख छ । यत्ति रकम पनि गृहमन्त्रीले २०६४–०६८ सम्म सभासद हुँदा आम्दानी गरेका उल्लेख गरेका छन् उनको त्यो खाता बन्द गरिएको जानकारी सोही फारममा गराइएको छ ।
गृहमन्त्री बादलको स्वकीय सचिवालयका सदस्य बिरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने तीन लाख ६० हजार एक सय ९३ रुपैयाँ भएको उल्लेख छ ।
बादलले अन्य सम्पत्ति सबै शेयर, सुन, घरजग्गा सबै श्रीमतीकै नाममा देखाएका छन् । त्यो सम्पत्ति पनि सबै माइतीपक्षबाट दाइजो आएको वा विदेशबाट श्रीमतीका भाइ बहिनीबाट उपहार पाएको उल्लेख गरेका छन। गृहमन्त्री थापाले कृषि तथा पशुधन को विवरणमा दुई कुकुर लेखेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पत्तिमा
मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार बिराटनगर महानगरपालिका–१२ स्थानीय घर भएका उनीसँग एक कठ्ठा जमिनमा बनेको पाँच कोठे र आफ्नो नाममा एउटा पुरानो साइकल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सर्लाहीको बस बरियामा लालबाबुकै नाममा चार बिघा पैतृक जमिन पनि रहेको छ । त्यसैगरी ललितपुरको भैँसेपाटीमा पत्नी बिमला पण्डितको नाममा चार आना जग्गा पैतृक सम्पत्तिका रुपमा रहेको उल्लेख गरिएको छ । त्यसैगरी विमालसँगै पैतृक सम्पत्तिकै रुपमा १० तोला सुन र १५ तोला चाँदी रहेको पनि उल्लेख गरिएको छ ।
लालबाबुको नाममा एभरेष्ट बैंकको मुद्दती खातामा २५ लाख रुपैयाँ पैतृक ब्याज रहेको पनि उल्लेख गरिएको छ । पत्नी बिमला र लालबाबुको नाममा एभरेष्ट र कृषि विकास बैंकमा आफैँले कमाएको सम्पत्तिको लाख रुपैयाँ ब्याज रहेको उल्लेख गरिएको छ ।
सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ, तीनवटा घर, करोडौँको सम्पत्ति
केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन् ।
मन्त्री महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।
दुई महिला मन्त्री ‘गरिब’
सम्पत्ति विवरण बुझाएका मध्ये दुईजना महिला मन्त्रीहरु थममाया थापा र बिना मगरको सम्पत्ति न्यून देखिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले म्याग्दीमा आमाबाट प्राप्त सात आना जग्गा र भूकम्पपीडित कोषबाट प्राप्त १५ हजार रुपैयाँ रहेको देखाएकी छन् ।
खानेपानी मन्त्री बिना मगरले आफ्नो नाममा केही पनि नरहेको देखाएकी छन् । उनको सम्पत्ति विवरणमा चितवनमा पति प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन र एउटा स्कुटर रहेको उल्लेख छ । मन्त्री मगरको एभरेष्ट बैंकमा खाता छ तर रकम सून्य देखाइएको छ ।














