३२ साउन ०७४, काठमाडौं । आसन्न भदौ ४ र ५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल गरेर जाने सहमति भएको छ ।
तीन संगठनले महासंघको भावी नेतृत्वका लागि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पदाधिकारी उम्मेदवारहरू घोषणा गरेका हुन् ।
गठबन्धनको तर्फबाट महासंघको अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार बनेका छन् । उपाध्यक्षमा विपुल पोखरेल र समावेशी उपाध्यक्षमा दिलिप थापामगर उम्मेदवार छन् ।
यस्तै महासचिवमा रमेश विष्ट उम्मेदवार छन् । ६ सचिवमध्ये ४ जनामात्र घोषणा गरिएको छ । दुई सचिवसहित अन्य पदका उम्मेदवार बिहीबार घोषणा गर्ने महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले जानकारी दिए ।
खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, जनजाति सचिवमा उदय जिएम र मधेसी सचिवमा सितल महतो उम्मेदवार बनेका छन् ।
यस्तै कोषाध्यक्षमा राजेश मिश्र उम्मेदवार छन् । माओवादी केन्द्र निकट प्रेस सेन्टरले अध्यक्ष र महिला सचिव पाएको छ भने दुई उपाध्यक्ष, महासचिव, ४ सचिव र कोषाध्यक्ष कांग्रेस निकट युनियनले पाएको छ ।
यता मशाल निकट प्रगतिशील पत्रकार संगठनले जनजाति सचिव पाएको छ ।
युनियन, सेन्टर र प्रगतिशीलले जारी गरेको संयुक्त प्रतिवद्धता
चौतारी नेतृत्वको गठबन्धनबाट तीर्थ कोइरालाको उम्मेदवारी
महासंघको अध्यक्षमा प्रेस चौतारी नेपाल नेतृत्वको गठबन्धनबाट अन्य संगठन समेतको समर्थनमा तीर्थ कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
महासंघका वर्तमान महासचिव उजिर मगरले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
चौतारी नेतृत्वको प्यानलले अध्यक्षबाहेक अन्य पदमा उम्मेदवारी घोषणा गरिसकेको छैन ।
नेपाल पत्रकार महासंघले महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ । महासंघका अध्यक्ष महेन्द्र विष्टले तोकिएको समयमै महाधिवेशन हुने गरी सबै तयारी पूरा भएको बताए ।
भदौ ३ गते मनोनयन, ४ गते उद्घाटन र बन्द सत्र गर्ने तथा ५ गते भोटिङ गर्ने गरी महासंघले तयारी गरेको छ ।
देशभरका सबै जिल्ला र प्रतिष्ठानबाट १ हजार ५०५ जना प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ । त्यसबाहेक १० जना सभासद् केन्द्रीय समितिले मनोनयन गर्ने भनिए पनि मनोनयन अझै गरिएको छैन ।
सभासद् मनोनयनदेखि महाधिवेशनको अन्तिम तयारीका लागि भदौ १ गते केन्द्रीय समितिको बैठक बोलाइएको महासचिव उजिर मगरले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने
महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने तयारी छ ।
उपत्यकाका तीन जिल्लाबाहेक बाहिरबाट आउने एक हजार प्रतिनिधिका लागि सुन्धारामा खाने बस्ने व्यवस्था मिलाइएको महासचिव मगरले बताए ।
महाधिवेशन सम्पन्न गर्नका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने र सोहीअनुसार व्यवस्थापन गरिएको पनि महासचिव मगरले जानकारी दिएका छन् ।
महासंघमा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, ६ सचिव र कोषाध्यक्ष गरी ११ जना पदाधिकारी हुन्छन् । यसबाहेक महासंघमा ३६ जना सदस्य हुन्छन् । महासंघको केन्द्रीय समिति ४७ सदस्यीय हुन्छ ।