१ फागुन, काठमाडौं । माओवादीहरुले २०५२ फागुन १ गतेलाई फरक फरक किसिमले सम्झिएका छन् । नयाँ शक्ति निर्माण अभियानका संयोजक डा.बाबुराम भट्टराईले छोरी मानुषी यमी भट्टराईको बिहे तनहुँका जेकेन्द्र श्रेष्ठसँग गरिदिएर फागुन १ लाई सम्भिएका छन् ।
डा.भट्टराईले ललितपुरको सानेपास्थित डेराको कम्पाउण्डमा आयोजना गरेको छोरी मानुषीको वैवाहिक समारोहमा दुईवटा पाल टाँगिएका थिए । जहाँ एउटा पालमा मञ्च बनाएर कार्यक्रम गरिएको थियो भने अर्को पालमा आगन्तुकका लागि खानाको व्यवस्था गरिएको थियो ।
मानुषीको बिहेमा भारत र चीनका राजदूतदेखि अख्तियार प्रमुख साथै मुख्य सचिव सोमनाथ सुवेदी, कांग्रेस नेता प्रदीप गिरी, लेखकहरु सिके लाल, खगेन्द्र संग्रौला, पूर्वसभामुख दमननाथ ढुंगाना, देवेन्द्रराज कँडेलदेखि प्रशान्त झासम्म निम्त्याइएका थिए ।
यसैगरी एमाओवादी नेता राम कार्कीदेखि पूर्वसचिव रामेश्वर खनाल, डा.प्रवीण मिश्रदेखि पूर्वप्रहरी अधिकृत गणेशराज राई लगायत विवाह समारोहमा सहभागी भएका थिए । त्यस्तै चलचित्रकर्मी सरोज खनाल, करिष्मा मानन्धर, अशोक शर्मा, नायिका रेखा थापा पनि वैवाहिक समारोहमा सहभागी रहेका थिए ।
२१ औँ जनयुद्ध दिवस मनाउन एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडालाई रोजे । उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै कम्युनिष्टलाई एक बनाउन हिँडेको तर दुर्भाग्य आफ्नै पार्टी माओवादी विभाजित भएको हेर्नुपरेको भन्दै नमिठो माने ।
यद्यपि, प्रचण्डले आफ्नो सम्बोधनमा ‘केही हप्ताभित्रै विभिन्न धारामा विभाजित माओवादीहरुबीच एकता हुने’ घोषणा गर्न पनि छुटाएनन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द विप्लव, मातृका यादव र मणि थापाले पनि एकताको आह्वानसहित विज्ञप्ति निकालेकाले एकता अहिलेको आवश्यकता माओवादी धाराहरुको एकता नै भएको दाबी गरे ।
यसैगरी विप्लव माओवादीले राजधानीमा रातो टिसर्ट पहिराएर हजारौं युवाहरुको मार्चपास प्रदर्शन गरेर २१ औं जनयुद्ध दिवस मनाएको छ । विप्लब नेतृत्वको माओवादीले राजधानीको केन्द्रभाग रत्नपार्क वरिपरिका क्षेत्रमा प्रदर्शन गरी शान्तिबाटिकामा जनसभा गरेको थियो ।
जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले जनयुद्धको उद्देश्य पूरा नभएको भन्दै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका थिए ।
यसैगरी मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी साथै मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले पनि आज अलग–अलग कार्यक्रम गरी २१औ जनयुद्ध दिवस मनाएको छ ।
फागनु १ गते सबै माओवादी पार्टी र पार्टी नेतृत्वलाई एउटै मञ्चमा राखेर संयुक्त कार्यक्रम गराई आम जनता र कार्यकर्तालाई एकताको सन्देश दिने किसिमको कार्यक्रम गर्ने योजना बुनेका ‘माओवादी एकता दवाव अभियान’का अभियन्ताहरुको चाहना पूरा हुन सकेन ।
नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित २०५२ फागुन १ गते बन्दुक उठाएको नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी साथै सरकारी बैंकमा एकैसाथ आक्रमण गरी जनयुद्ध थालनी गरेको थियो ।
१० वर्षसम्म चलेको जनयुद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिएका थिए । हजारौं नागरिक घाइते, अपाङ्ग भएका छन् भने हजारौंको संख्यामा नागरिक बेपत्ता पारिए ।
नेकपा माओवादीले २०६३ मंसिर ५ गते शान्ति सम्झौतामार्फत् हतियार बिसाएपछि माओवादीका केही पूर्वलडाकुहरु नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् । तर, शान्तिपूर्ण राजनीतिमा आएको एक दशक लागिसक्दा पनि नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरेको भए पनि सहिद, बेपत्ता, घाइते, अपाङ्ग साथै आम जनता र पार्टी कार्यकर्तालाई बाँडेको सपना भने पूरा गर्न सकेका छैनन् ।