नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा वाईसीएलका फ्रयाक्सन ईन्चार्ज मणि थापासँग हाकाहाकी डटकमका प्रतिनिधिले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
केमा व्यस्त हुनुहुन्छ ?
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को राष्ट्रिय सम्मेलनमा केन्द्रीत भइरहेको छु । वाईसीएललाई नेकपा माओवादी केन्द्रले एक सशक्त युवा संगठनको रुपमा स्थापित गर्न गइरहेको छ । जसले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन साथै प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन मुख्य भूमिका खेल्नेछ । राष्ट्रिय सम्मेलनको पहिलो दिन आज युवाहरु प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रमा वाईसीएलको भूमिका के कस्तो रहन्छ ?
नेकपा माओवादी केन्द्रको पक्षमा जोडदार प्रचार–प्रसार गर्ने, पार्टीको मतको रक्षा गर्ने, चुनावमा जुन विकृतिकरण भइरहेको छ, त्यसलाई रोक्ने । यहाँ पैसाको चलखेल बढी छ । त्यसलाई रोक्ने, सही निर्वाचन प्रणाली स्थापित गराउन आवश्यक भूमिका खेल्नु पर्छ भन्ने हाम्रो सोच हो ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ?
पहिलो, यो निर्वाचनमा नेकपा माओवादी केन्द्र थोरै कमजोर साबित भएको छ । कमजोर हुनुको पछाडि युवाहरुको सशक्त परिचालन भएन भन्ने पनि छ । युवाको परिचालनलाई राष्ट्रिय सम्मेलनपछि सशक्त बनाउँछौं ।
दोस्रो, पार्टीकोे केन्द्रीय सचिवालयको विस्तारित बैठकले युवाहरुलाई सशक्त हतियारको रुपमा प्रयोग गर्नुपर्नेमा त्यसो गर्न सकेनौ भन्ने छ । भावी आन्दोलन र निर्वाचनमा वाइसीएल र युवाहरुको परिचालन गरेर विरोधीहरुमाथि हस्तक्षेप, मतको रक्षा गर्दै चुनावको बिचमा हुने पैसाको चलखेललाई रोक्नेछौं ।
केन्द्रीय सचिवालयको बैठकले पार्टी, जबस, मोर्चाहरु चुस्त बनाउने निर्णय गरेको छ, कार्यान्वयनमा जटिलता आउँदैन ?
पार्टी नै चुस्तदुरुस्तको प्रक्रियामा गइसकेपछि जबस, मोर्चाहरु पनि अनिवार्यरुपमा चुस्तदुरुस्त बनाउनु पर्छ । पार्टी एकता विशिष्ट धुर्वीकरणको अवस्थामा थियो । त्यसकारण, पार्टी र जबसहरु ठूला ठूला भएका हुन् । अब त्यस्तो हुँदैन् ।
हामीले ठूला र भद्दा कमिटी बनायौँ । त्यसले जनतामा विकर्षण ल्यायो । एकता प्रक्रियामा हामीले सिद्धान्त विपरीत गएर संगठन निर्माण ग¥यौं । तर, अहिले वाइसीएलको राष्ट्रिय सम्मेलन हुँदैछ, यही सम्मेलनबाट हामी चुस्त र सानो संगठन बनाउने सुरुवात गर्दैछौं । जसको गृहकार्य गरिसकेका छौं ।
अब लिडरको क्वालिटी निर्धारण गरिन्छ । इतिहासको मूल्याङ्कन पनि गरिन्छ । आन्दोलनको नेतृत्व गर्न सक्ने नयाँ नेतृत्व आउनुपर्छ भन्ने हामीले भनेका छौं । यसअघि भद्दा कमिटी भयो भनेर जनता र कार्यकर्ताबाट आएको विरोधको हामी सम्मेलनबाट सम्बोधन गर्नेछौं ।
पार्टीको केन्द्रीय सचिवालयको बैठकमा गुट चर्चा भए जस्तै वाईसीएलको सम्मेलनमा पनि गुट–उपगुटको रङ्गले भद्दा कमिटी बन्ने त होइन् ?
पार्टी संगठनमा गुट–उपगुट प्रमुख भइसकेपछि आन्दोलन बन्दैन, जुन हाम्रो पार्टीमा नवप्रवेशीहरुका लागि समस्या नै देखिएको छ ।
न्यू कमर (नवप्रवेशी) पार्टीमा गुटका लागि प्रवेश गरेका हुँदैनन् । पार्टीमा गुट–उपगुट देखेपछि उनीहरु किन प्रवेश गर्ने भन्ने दुविधामा देखिन्छन् ।
त्यसकारण अबको नेतृत्व गुट उपगुटको होइन, समग्र आन्दोलन बनाउने हिसाबले जान्छौं । युवाहरु गुट होइन, आन्दोलन चाहन्छन् । बलिदान र त्याग गर्न चाहन्छन् । अब युवाहरुले नेतृत्व गर्नुपर्छ । हामीले पार्टीको केन्द्रीय समितिमा पनि युवाहरुको राम्रो प्रतिनिधित्व हुनुपर्छ भनेका छौं । साथै, युवा संगठित नभइकन गुटहरुको पनि अन्त्य हुँदैन् ।
अर्कोकुरा, पार्टीमा धेरै पुराना र उमेर समूहका नेता हुनुपनि अनिवार्य गुट जन्माउने साधन हुँदा रहेछन् । त्यसैले हामीले युवाहरुलाई प्रोत्साहित गर्न खोजेका छौं ।
पहिलो र दोस्रो निर्वाचनबाट माओवादी केन्द्रले सिकेको पाठ ?
हामी सामाजिक विशेषता अनुसारको माओवादी भएनछौं । माओवादी जनतासँग सम्बन्धित पार्टी हुनुभन्दा पनि अभिजात वर्गका, ठेकेदारको, डनहरुको जस्तो पार्टी भएछ ।
सर्वहारा वर्गको पार्टी त पछिल्लो समय पैसावालाको पार्टी जस्तो भयो । माओवादी केन्द्रलाई जनताले काँग्रेस–एमालेभन्दा अन्तर देखेनन् । काँग्रेस, एमाले र माओवादी केन्द्रका बीच तात्विक भिन्नता नदेखेपछि स्वतन्त्र जनताले मतदान मार्फत देखाइदिएका हुन् ।
हाम्रो इतिहास जनपक्षीय, क्रान्तिकारी नै हो । तर, हामीले इतिहास भुल्यौं । हाम्रो प्रयत्न भनेको नयाँ र युवाहरुलाई स्थान दिएर जनपक्षीय क्यारेक्टरमा सुधार गर्नुपर्छ ।
हामीले जनसम्बन्ध पनि सुदृढ गर्न सकेनौ । अब जनसम्बन्ध सुदृढ गर्ने दिशामा माओवादी केन्द्र छ ।
यसैगरी हाम्रो प्रचार–प्रसार राम्रो भएन, केन्द्रीय योजना पनि राम्रो बन्न सकेन्, उम्मेदवार छान्ने बेलामा पनि गुट उपगुटको प्रतिछाँया देखिए । सही उम्मेदवार छनौट गर्न सकेनौं । सक्षम उम्मेदवार भन्दा पनि कसैको दबावमा छान्यौ । यसले स्थानीय तहको नतिजा निर्धारण गरिदियो । त्यो सुधार गर्नुपर्छ । हामीले सिक्नुपर्छ । त्यो लेसन लिएनौं भने साथै युवाहरुलाई प्रोत्साहन गरेनौं र प्रतिनिधित्व गराएनौं भने काँग्रेस र एमाले जस्तै माओवादी हुनुको अर्थ छैन् ।
वर्ग सङ्घर्षबाट आएको पार्टी, अन्तर सङ्घर्षमा अल्झियो, अन्तर सङ्घर्ष जित्न वर्ग दुश्मनसँग मिल्यो भन्ने आरोप छ नि ?
निर्वाचन हो, निर्वाचनमा हामीले जित्ने रणनीति तय गर्दा जित्ने मत जोसँग पनि लिन सकिन्छ । जित्ने हिसाबले हामीले सोच्यौं ।
हामी काँग्रेससँग सरकारमा सँगै छौं । हाम्रो काँग्रेससँग तालमेल भयो । हामीले काँग्रेससँग एलायन्स गरेको कारणले माओवादीले हारेको भन्ने चाहिँ होइन् ।
हार्नुको आन्तरिक कारण, हामीले हाम्रो वर्गलाई बुझाउन, सुदृढ गर्न, आकर्षित गर्न सकेनौं । प्रचार प्रसार गर्न सकेनौं । जसका कारण जनताले हामीलाई आफूले चाहेको नेकपा माओवादी केन्द्रको रुपमा देखेनन् । माओवादीको सामाजिक चरित्र नदेखेपछि जनतामा विकर्षण आएको देखियो । जसलाई सुधार गर्नै पर्छ ।
पार्टी एकताको सहमति र मर्म अनुसार अघि बढ्न सकेन भन्ने सुनिन्छ, कुरा के हो ?
पहिलो कुरा, पार्टी एकताको भाव तलसम्म पुगेकै छैन् । अहिले त्यसैले पनि असर गरेको छ । हामीले पार्टी एकतालाई गाउँ तहसम्म सुदृढ गर्न सकेनौं । त्यसको रिफ्लेक्सन चुनावमा आयो भन्ने कुरा अध्यक्ष कमरेड प्रचण्डले पनि स्वीकार गरेकै कुरा हो ।
दोस्रो, पार्टी एकता प्रक्रियामा आउने साथीहरुलाई चुनावप्रति खासै रुचि छैन् । चुनावबाट आएका साथीहरुलाई चुनावप्रति अलि बढी रुचि छ । यी दुबै धारणा गलत छन् । किनभने, एकता हुँदा एउटाले रणनीति र अर्कोले कार्यनीति ल्याएको छ । तसर्थ, पार्टी एकताको सहमति र मर्म अनुसार नै अघि जाने हो ।
माओवादी केन्द्रले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनलाई कसरी हेरेको छ ?
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कमजोरी भयो । तर, दुई नम्बर प्रदेशमा ती कमजोरी सच्चाउनु पर्छ भनिएको छ ।
पहिलो र दोस्रो चरणको निर्वाचनबाट पाठ सिक्नु पर्छ । दुई नम्बर प्रदेश नेपालको रणनीतिक महत्वको प्रदेश पनि हो । साथै, पछिल्लोे चरणको आन्दोलनको सम्बोधन गर्नु पर्ने विषय पनि हो । यो जनताको विषय पनि हो ।
माओवादी केन्द्रले पार्टीको अन्तरसङ्घर्ष मिलाउने प्रयत्न पनि पार्टीको तहबाट गरिरहेको छ । यो प्रदेशमा निर्वाचन परिणाम पहिलो र दोस्रो चरणको निर्वाचनमा भन्दा राम्रो आउँछ भन्ने आँकलन गरिएको छ ।
अब माओवादी केन्द्र कसरी अघि बढ्छ ?
माओवादीले निर्दिष्ट गरेको अहिलेको बाटो प्रतिस्पर्धात्मक संसदीय व्यवस्थालाई उपयोग, प्रयोग र स्थापित गर्ने भनेका छौं । उपयोग र प्रयोग गर्नेक्रममा प्रतिस्पर्धात्मक पूँजीवाद, साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी शक्तिहरुलाई परास्त गर्न चुनाव हुन्छ । त्यसमा आफूलाई उत्कृष्ट सावित गरेर अघि बढ्ने हो ।
संगठनमा पहिलो पटक नयाँ बसोबास भएका सहर, नयाँ सभ्यतासहित बनेका सहर, नयाँ बसोबास, मध्यम वर्ग र शहरमा माओवादीले आफूलाई केन्द्रीत गरेर उत्कृष्ट (वेटर) सावित गर्न सक्नुपर्छ । साथै, सहरको मध्यम वर्ग, नयाँ सोसाइटीलाई सम्बोधन गर्ने माओवादी पार्टी बनाउनु पर्छ ।
माओवादी पार्टी किसान, मजदूर र ग्रामीण भूगोलमा ठीक छ । अब जबस, मोर्चा, विद्यार्थी र युवालाई सशक्त बनाउनु पर्छ । विशेषत्ः युवा र विद्यार्थी संगठनलाई सशक्त बनाएर जानुपर्छ भन्ने पार्टीको नीति छ ।