माओवादी केन्द्रका प्रचण्ड बने संरक्षक, अध्यक्ष भए कृष्णबहादुर महरा

जय कार्की/काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको संरक्षक बनेका छन् भने नेता कृष्णबहादुर महरा अध्यक्षमा चुनिएका छन् ।

नेपाली राजनीतिमा छक्का–पञ्जाको दाग नलागेका तत्कालिन एनेकपा माओवादीका उपाध्यक्ष तथा श्रमजीवी वर्गका नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को तेश्रो स्मृतिसभाले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संरक्षक र नेता महरालाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै स्मृति सभाले प्रतिष्ठानको संरक्षकमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई पनि चयन गरेको छ ।

यसैगरी सल्लाहकारमा कमरेड वर्षमान पुन, हितबहादुर तामाङ, रामप्रसाद ढुंगाना र कानुनी सल्लाहकारमा दिनमणि पोखरेललाई चयन गरेको छ ।

त्यस्तै गरी हितराज पाण्डे, कृष्णप्रसाद अधिकारी विवेक, राममाया बोगटी, निर्मल आचार्य, रेनु चौलागाई, अमिर गुरुङ, दीपा कण्डेल र धर्मशीला चापागाईलाई सदस्य चयन गरेको छ ।

बादलले सम्झिए पुलिसमाथि आक्रमण गरेको घटना

पोष्ट बहादुर बोगटी ‘दिवाकर’को स्मृतिसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले स्व.बोगटीको जीवन बारेमा प्रकाश पारेका छन् ।

नेता बादलले पञ्चायतकालीन निरंकुश सत्ताको विरुद्वमा बोगटीले राजधानीमा पुलिसको बिटमाथि आक्रमण गरेको घटना स्मरण गरे ।

उनले स्व.दिवाकरसँग सेक्टर काण्डको बेलादेखि नै आफूसँगै काम गरेको स्मरण गर्दै बोगटीको सपना साकार पार्न अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

क्रान्तिकारीहरुबीच अझै ध्रुवीकरण हुन बाँकी रहेको बताउँदै नेता बादलले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा बोगटीका अब्बल विचार, दृष्टिकोण, राजनीतिक इमान र आदर्शका आचरणहरुलाई मार्ग दर्शकका रुपमा ग्रहण गर्नुपर्ने बताए ।

श्रमजीवी वर्गका लोकप्रिय नेता पोष्टबहादुर बोगटी दिवाकरको २०७१ साल भाद्र ३० गते हृदयघात र मष्तिस्कघातका कारण निधन भएको थियो ।

तपाइको मत