
प्रदिप कुमार पाण्डे
रुपन्देही । दोस्रो चरणमा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोहिणी गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका प्रदिप कुमार पाण्डेले प्रतिस्पर्धा गर्दैछन् ।
पाण्डे लामो समयदेखि रोहिणी गाउँपालिकामा रही विकास निर्माण तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनै पाण्डेसँग स्थानीय तहको निर्वाचनको सेरोफेरोमा रहेर पत्रकार रबिन्द्र प्रताप गुप्ताले गरेको कुराकानीको सम्पादित अंश :
यहाँको राजनीतिक यात्राको बारे केही बताइदिनस् न !
नेपालको राष्ट्रिय राजनीति विभिन्न भागमा विभाजित थियो । सामन्ती र जमिन्दारहरुले मधेशी जनतालाई दमन गरेको देख्दा पीडाको महशुस हुन लाग्यो । मधेशी, आदिवासी–जनजाति, दलित, महिला, मुस्लिम र उत्पीडित जनताको अधिकारका निम्ति स्थापना भएका पार्टीहरुले पनि जनतालाई अधिकार दिलाउन सकेनन । त्यतिखेर उत्पीडित जनताको अधिकारको मुख्य विषय माओवादीले उठाएको हुनाले म यस पार्टीमा आबद्ध भएँ ।
मेरो राजनीतिक यात्रा माओवादीबाट सुरु भयो । म जनयुद्धकालदेखि नै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गरेँ । म जनयुद्धकालदेखि नै पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आइरहेको छु ।
२०५७ सालदेखि माओवादीको राजनीतिक यात्रा जारी नै छ । हाल म ने.क.पा. (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा रोहिणी गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु ।
रोहिणी गाउँपालिकामा यहाँको उम्मेदवारी किन र केका लागि ?
म यस गाउँपालिकाका जनतालाई रैति होइन् मालिकको रुपमा हेर्न चाहन्छु । उहाँहरुकै सहभागितामा गाउँको विकासको भावी योजना बनाई कार्यान्वयनमा ल्याउन चाहन्छु । उत्पीडित वर्ग, जाति, लिङ्ग र भूगोलको अधिकार र पहिचानलाई मजबुत बनाउन, गाउँपालिकामा सुशासन कायम गर्न, जमिन्दारी मानसिकता र भ्रष्टचारको अन्त्य गर्न र जनतामा विकासको प्रत्याभूति दिलाउन मैले रोहिणी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको हुँ ।
रोहिणी गाउँपालिकामा विशेष गरी के कस्ता समस्याहरु छन् ?
रोहिणी गाउँपालिकामा अव्यवस्थित सडक, नाला, खानेपानी, किसानहरुलाई बिउबिजन र मलको समस्या छ । त्यसैगरी सुशासन र अनुशासनको नाममा राजनीतिक र सामाजिक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको अनुभूत गरेको छु ।
गाउँपालिका प्रमुखमा विजयी भए गाउँपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
मतदाताले मलाई गाउँपालिका प्रमुखमा जिताउनुभयो भने मैले गाउँपालिकामा एम्बुलेन्स र दमकलको व्यवस्था, गाउँपालिकामा रहेका मठ–मन्दिर, मदरसाको निर्माण तथा मर्मत, महिलाहरुको लागि सीपमूलक तालिमको व्यवस्था, बेरोजगार युवा वर्गको लागि स्वरोजगार योजना भित्र्याउने सुनिश्चितता, गाउँपालिकामा रहेका प्रत्येक वडाहरुमा सार्वजनिक शौचालय निर्माण, वास्तविक किसान समूह पहिचान गरी किसान परिचय पत्र उपलब्ध गराई सोको आधारमा अनुदानको लागि आवश्यक व्यवस्था मिलाउने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय तथा कम्प्युटर शिक्षा प्रणालीमा विशेष जोड दिनेछु ।
साथै, गरीब, असाहय तथा विपन्न विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा तथा छात्रवृत्तिको उचित प्रबन्ध, गाउँपालिका भित्र प्रत्येक वडामा हाटबजारको उचित प्रबन्ध, मुस्लिम समुदायको उत्थानको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, गाउँपालिकामा रहेको स्वास्थ्य उपकेन्द्रमा एम.बि.बि.एस. डाक्टरको दरबन्दी राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
तपाईको चुनाव जित्ने आधार भनौं या चुनावी एजेण्डाहरु के के छन् ?
अहिले देशमा माओवादी केन्द्रको जनलहर नै बढेको छ र रोहिणी गाउँपालिका पनि माओवादीको आधार इलाका हो ।
ठूला–ठूला आमूल परिवर्तनमा पनि यस गाउँपालिकाबाट प्रतिनिधित्व हुँदै आएको छ । देश र जनताको मुक्तिको लागि लड्ने, संघीयता, धर्म निरपेक्षता, समावेशीता, संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण भुमिका खेल्ने देशको एक मात्र पार्टी माओवादी केन्द्र भएको कुरा रोहिणी गाउँपालिकाका मतदाताहरुले राम्रोसँग बुझेर पार्टीका उम्मेदवारहरुलाई विश्वास गर्नुभएको छ ।
त्यसैगरी म अहिलेसम्म पदीय दायित्वमा नरहे पनि जनताको सेवामा अविछिन्नरुपमा काम गर्दै आइरहको छु । साथै, विकास निर्माणको कार्यहरु गर्दै आएको छु । जनताले अब पुरातनवादी सोच राख्ने पुराना पार्टीहरुलाई नभई अग्रगामी सोच राख्ने पार्टीका उम्मेदवारहरुलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहनुभएको छ ।
यसैगरी जनताहरु अब मण्डले राष्ट्रवादको पक्षमा छैनन् । समाजमा जनतासँग भिजेको, गरीब तथा शोषणमा परेका जनताको न्यायको लागि आवाज उठाएको र सामाजिक उत्तरदायित्व बहन गर्नमा सदैव अग्रसर भएको र मधेशी, दलित जनजाति, मुस्लिम समुदायको अधिकारको लागि सदैव आवाज उठाइरहेको कुरा नै मेरो चुनाव जित्ने आधार हो ।
मुख्य रुपमा भन्नुपर्दा, रोहिणी गाउँपालिकामा माओवादी केन्द्रको प्रतिस्पर्धी नै छैनन् । मलाई विश्वास छ, यस गाउँपालिकाका मतदाताले मलाई अत्याधिक मतले विजय गराउनु हुनेछ ।
अन्त्यमा, यस गाउँपालिकाका मतदाताहरुलाई केही भन्नु छ कि ?
म रोहिणी गाउँपालिकाका सम्पूर्ण मतदाताहहरुलाई आफ्नो हक अधिकार सुनिश्चित गर्न र विभेदको अन्त्य गर्नको लागि मलाई मतदान गर्नको अनुरोध गर्दछु ।
म जुनसुकै बेला पनि जनताको काममा नै सक्रिय भएर लागेको कुरा सबै माझ सर्वविदितै छ । जुन तरिकाले मैले आफ्नो प्रतिवद्धता पत्र पेश गरेको छु त्यही अनुसारका कामहरु नै म निर्वाचित भएपछि गर्ने वाचा गर्छु ।
पुरानो सोच राख्ने पार्टी र त्यसका उम्मेदवारहरुले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न विभिन्न खालको आश्वासन बाँडिरहेका छन । तर त्यी झूठा आश्वासन र भ्रममा नपरी वास्तविक विकासको लागि र विभेदको अन्त्य गर्नका निम्ति गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी विजयी गराउनु हुन अपिल समेत गर्दछु ।