मुख्यसचिवलाई काममा बाधक नबन्न सरकारको चेतावनी

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारका मन्त्रीहरूले सरकारको काममा असहयोग गरेको भन्दै बाधक नबन्न चेतावनी दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीलाई मन्त्रालयका काम रोक्न भूमिका खेलेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

उनीहरूले निर्वाचनपछि ठूलो दल बनेको एमालेको कुरा सुनेर रेग्मीले सरकारको काममा अड्चन गरिरहेको आरोपसमेत लगाए ।

मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा मंसिर २५ यता बैठक बस्न नसक्नुको दोष पनि मुख्यसचिव रेग्मीमाथि नै थोपरेका थिए ।

‘मुख्यसचिवले मन्त्रालयका सचिवहरूलाई कुनै पनि काम नगर्न उक्साएकाले सचिवले हामीलाई सहयोग गरेनन्, हाम्रा निर्देशन पालना गर्न छोडेका छन्’, मन्त्रीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले मुख्यसचिवले यसरी सचिवलाई उक्साउने काम बन्द गर्नुपर्छ। नगरेमा उनीमाथि कारबाही गर्नुपर्छ ।’

मुख्यसचिव रेग्मीले भने आफूमाथि लगाइएका आरोप निराधार भएको भन्दै बैठकमा प्रतिवाद गरेका थिए ।

सरकारको निर्णयविरुद्ध आफू जानै नसक्ने भन्दै उनले मन्त्रीहरूलाई भ्रममा नपर्न आग्रह गरेका थिए ।

बैठकमा सहभागी महिला बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले मुख्यसचिवबाट असहयोग भएको भन्दै केही मन्त्रीले सामान्य असन्तुष्टि पोखेको बताए ।

‘मन्त्रीहरूको केही असन्तुष्टि रहेछ तर मुख्यसचिवज्यूले स्पष्ट पार्नुभएपछि उहाँहरूको गुनासो साम्य भएको छ’, थापाले भने ।

स्रोतकाअनुसार मन्त्रीहरूले बैठकमा एक घन्टाभन्दा बढी समय मुख्यसचिवको आलोचनामै खर्चिएका थिए ।

तपाइको मत