युक्तिलाल मरिक वैद्य–प्रकाश पुरस्कारबाट सम्मानित

१७ साउन ०७४, सप्तरी । डोम समुदायका अगुवा युक्तिलाल मरिक (डोम) वैद्य–प्रकाश मानवअधिकार पुरस्कार–२०७४ बाट सम्मानित भएका छन् ।

सोमबार वैद्य प्रकाश मानवअधिकार पुरस्कार कोषले राजविराजमा आयोजना गरेको एक कार्यक्रममा मरिकलाई मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै २५औं प्रकाश स्मृति दिवसको अवसर पारेर सो पुरस्कारबाट सम्मानित गरेको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका २ निवासी ५३ वर्षीय मरिक डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष समेत हुन् । दुई दशकदेखि गरिब असहाय, दलित महिला, अल्पसंख्यक र भुमिहीनहरुको उत्पीडनविरुद्ध कटिबद्ध भई लागेकाले सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २०७१ सालमा ५० हजार राशीको प्रकाश मानवअधिकार पुरस्कार पाएका राजविराज ७ निवासी झाले सोही रकमबाट वैद्यप्रकाश मानवअधिकार पुरस्कार कोषको स्थापना गरी २०७३ सालदेखि मानवअधिकार तथा नागरिक आन्दोलन क्षेत्रमा योगदान पु¥याउने एक जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

पुरस्कारको राशी ३ हजार ५ सय तथा कदरपत्र रहेको छ । यसअघि २०७३ सालमा सो पुरस्कारवाट दलित समुदायको सशक्तिकरणका लागि योगदान पु¥याउने बलदेव राम सम्मानित भएका थिए ।

मरिकलाई कार्यक्रमका प्रमुख अतिथि ईन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापाले कदरपत्र दोसल्ला र नगद पुरस्कारबाट सम्मानीत गरेका थिए ।

तपाइको मत