४ पुस, काठमाडौं । नेकपा एमालेले पार्टीसम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यालाई देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण भएको बताएको छ ।
एमाले महासचिव ईश्वार पोखरेलले सोमबार साँझ विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । तिवारीको सोमबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । घटनालगतै बुटवल अशान्त बनेको छ ।
एमालेले यो घटनालाई देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण भएको बताउँदै यसले आन्दोलनलाई कमजोर बनाउने र साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको बताएको छ ।
तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
तिवारीको हत्यामा मनोज राना पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताए पनि औपचारिक जानकारी सार्वजनिक भएको छैन् । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै तिवारीमाथि आक्रमण भएको थियो । तिवारीको केवीआई इँटा उद्योग छ ।
प्रहरी अधिकारीहरुले यो घटना राजनीतिकभन्दा आर्थिक लेनदेनमा भएको हुनसक्ने आशंका गरेका छन् ।
यसैबीच युवा संघले तिवारीको हत्याको विरोधमा आन्दोलनको घोषणा गरेको छ । संघको आकस्मिक बैठकले महासचिव किरण पौडेलको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ । साथै, बैठकले ५ गते लुम्बिनी बन्दको आहृवान गरेको छ भने देशभर १ देखि २ बजेसम्म चक्काजाम गर्ने निर्णय गरेको छ ।