२४ साउन ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठकले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा भाग लिने, नलिने कुनै निर्णय गर्न सकेन ।
मंगलबार सम्पन्न पदाधिकारी बैठक स्थानीय तहको निर्वाचनमा जानुपर्छ र हुँदैन भन्ने मत बिच सम्पन्न भएको छ ।
बैठकमा उपस्थित ४३ जनाले आगामी २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने, २९ पदाधिकारी सहभागी हुन नहुने पक्षमा रहे साथै १९ जना तटस्थ रहे भने ४३ पदाधिकारी बैठकमा उपस्थित नै नहुँदा बैठक निर्णयमा पुग्न नसकेको हो ।
अब चुनावबारे निर्णय लिने अधिकार अध्यक्षमण्डलमै पुगेको छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगै सदस्यहरु राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव यथास्थितिमा चुनावमा जानु नहुने पक्षमा छन् भने शरतसिंह भण्डारी र महेन्द्र राय यादव भने संशोधनलाई निर्णयार्थ पेश गर्ने र ‘पास/फेल’ जे भए पनि परिणामलाई स्वीकारेर चुनावमा जाने पक्षमा देखिन्छन् ।
मंगलबार राजनीतिक प्रतिवेदन परिमार्जनसहित पास गर्ने निर्णय गर्दै केन्द्रीय समिति बैठक सकिएको छ ।