राजपा नेपालसहितका मधेशवादी दल यथास्थितिमा दोस्रो चरणको चुनावमा सहभागी नहुने !

१२ जेठ ०७४, काठमाडौं । दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी राष्ट्रिय जनता पार्टी नेपालसहितको मधेशवादी दलले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको गठवन्धनको बैठकले स्थानीय तहको संख्या बृद्धि सहमतिअनुसार नभएको भन्दै अस्वीकार भएको बताउँदै यथास्थितिमा चुनावमा सहभागी नहुने अडान लिएको छ ।

चुनावमा राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।

‘हालै थप गरिएको स्थानीय तहको २२ संख्या अपुग एवं सीमाङ्कन अवैज्ञानिक तथा समझदारी विपरीत भएकाले यो हामीलाई स्वीकार्य छैन’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनसम्वन्धी सबै कार्यक्रमको प्रतिवाद गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

जसमा १३ गते उपमहानगर र नगरपालिकामा मसाल जुलुस प्रदर्शन, १४ गते लाठी जुलुस र १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने साथै १९ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्न १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द आहृवान गरेको छ ।

तपाइको मत