रामेछाप वादीपाखा सामुदायिक वनमा भीषण डढेलो

२५ माघ ०७४, मन्थली । रामेछाप वादीपाखा सामुदायिक वनमा भीषण डढेलो लागेको छ ।

रामेछाप जिल्ला अस्पताल नजिकको  दक्षिणतर्फको सामुदायिक वनमा आगो लागेपछि निभाउन जिल्लाका सबै शक्तिको परिचालन गरिएको छ । । हावा बेगले चलिरहेकोले आगो नियन्त्रणभन्दा बाहिर छ । आगोबाट अस्पताल जोगाउने प्रयास भइरहेको छ ।

रामेछापस्थित नन्दाबक्स गणका गणपति प्रमोदकुमार थापाको नेतृत्वमा नेपाली सेनाका दर्जनौं जवान, नेपाल प्रहरी, रेडक्रसका स्वयंसेवकहरु आगो निभाउन जुटेका छन् ।

मन्थली नगरपालिकाको दमकल अस्पताल परिसरमा राखिएको छ । सल्लाघारी भएकाले आगोले अस्पताल भेट्ने आशंकामा सेनाले अस्पताल वरिपरिको भागमा बनाइएको अग्निरेखाको सफाइ गर्नका साथै पत्करमा आगो लगाइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछाने समेत आगलागीस्थल पुगेका छन् ।  आठ वर्ष अघि सोही जंगलमा लागेको डढेलो निभाउने क्रममा नेपाली सेनाको श्रीजंग गणका १३ जना सिपाहीले ज्यान गुमाएका थिए ।

तपाइको मत