रुँदा-रुँदै उनको मुखबाट निस्कियो, ‘टाइम बम फिट गरेर प्रधानमन्त्रीको गाडी उडाइदिन्छु’

४ असोज, काठमाडौं । प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामा एकजना पातलो ज्यान भएका युवा प्रहरीसँग वादविवाद गर्दै थिए । उनी कार्यालयभित्र जान चाहन्थे तर, जति आग्रह गरेपनि सुरक्षाका लागि खटिएका प्रहरी भन्दै थिए ‘अनुमति छैन भित्र जान मिल्दैन, उता जानुस् ।’ पटक पटक हात जोडेर गरेको उनको आग्रहले प्रहरी हैरान भइसकेका थिए । प्रधानमन्त्रीकै पार्टीको कार्यकर्ता भएकाले प्रहरीले बल प्रयोग गर्ने आँट पनि गरिरहेको थिएन ।

img_20160918_114246-358x300

धेरै बेरसम्म पनि प्रहरीले भित्र जान नदिएपछि उनी रुन थाले । रुँदा-रुँदै आक्रोशित भएका उनको मुखबाट निस्कियो ‘टाइम बम फिट गरेर प्रधानमन्त्रीको गाडी उडाइदिन्छु ।’ प्रधानमन्त्री कार्यालयको मुख्य ढोकामै डाँको छाडेर युवा रोइरहेको देखेपछि त्यसबारे बुझ्ने चासो बढ्यो ।

उनी रहेछन तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेनाको कम्पनी सह-कमाण्डर, हरि रोकाय । रुँदै आफ्नो बेदनाका पोका खोल्दै गए । आफूसँग रहेको डायरी खोलेर देखाउन थाले । उनको डायरीमा टाइम बम बनाउने तरिका तस्बिरसहित उल्लेख थियो । उनको झोलामा जग्गाधनी प्रमाणपूर्जा, नेपाली नागरिकताको प्रमाणपत्र, सशस्त्र द्वन्द्वका बेला दिइएका परिचय पत्र र द्वन्द्वको बेलाका नोटहरु थिए ।

उनको डायरीमा १६ ठाउँँमा युद्ध लडेको अनुभव सँगालिएको छ । २०६० सालमा बाँकेको कुसुम र म्याग्दीको बेनीबजार, २०६१ साल भदौ ५ गते जुम्लाको मिनी रोड, २०६१ चैतमा रुकुमको खारा, २०६१ कै मंसिरमा बाँकेको मुगुवा खोला र बाँकेको खरीखोला, २०६२ मा कैलालीको शंखरपुर, स्याङजाको मनकामना, स्याङजाकै वालिङ, नवलपरासीको रमुवापुर, पाल्पाको हातिगौडा, बर्दियाको रम्बापुर, पाल्पाको तानसेन, कपिलबस्तुको तौलिहवा र सुर्खेतको भेरीपूल र २०६२ कै साउन २३ गते कालिकोटको पिली भिडन्तमा संलग्न भएको रोकायको डायरीमा उल्लेख छ । उनले कापीमा भिडन्तको मोर्चा सम्हालेका ठाउँ लेखेका छन् भने दायाँपट्टि सफल असफल के भएको भनेर चिनो लगाइएको छ ।

डायरीका पानामा उनले विगतमा पार्टीमा पुर्‍याएको योगदान, आफूले पाएको जिम्मेवारी र सम्हालेको भूमिका पनि टिपेका छन् । प्रधानमन्त्रीको कार्यालयमा छिर्न डाँको छोड्दै रोइरहेका हरि उज्यालो अनलाइनलाई आफ्ना बेदना सुनाउँदै गर्दा बिस्तारै सुक्सुकाउन थालिसकेका थिए । केही आक्रोशित बन्दै उनले थपे ‘शरीरैभरि बमका छर्रा छन्, परिवार लथालिङ्ग भएको छ, म गाउँमा बस्न सक्ने अवस्था छैन, म घरि भारत जान्छु त घरि देशभित्रै ज्यामी मजदुरी गरेर खाँदै आएको छु ।’

उनले युद्ध लड्दा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका सुप्रिम कमाण्डर थियो । त्यसैले आफ्ना सुप्रिम कमाण्डर प्रधानमन्त्री भएको बेला रोकाय आफ्ना बेदना पोख्न सिंहदरबार छिरेका थिए । ‘म आफ्ना तत्कालिन सुप्रिम कमाण्डरलाई भेट्न जान चाहन्छु तर पुलिसले जान दिँदैन ? म यो बेदनाको पोको मेरा कमाण्डरसामु पोख्न चाहन्छु’ यति भनिसक्दा उनी फेरि डाँको छोडेर रुन थाले ।

रोकायले आफ्नो दुखेसो पार्टीका विभिन्न तहका नेतालाई भेटेर सुनाए पनि सबैले काम हुन्छ-हुन्छ भन्ने मुण्टो मात्र हल्लाएको तर काम भने कसैले नगरेको गुनासो पोखे । साभार : सुनौलो नेपाल डटकमबाट ।

तपाइको मत