ल्हासा र तिब्बतका उच्च अधिकारीहरुसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

१३ साउन ०७४, काठमाडौं ।  मानसरोबरको निजी भ्रमणका क्रममा ल्हासामा रहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारी तथा कम्युनिस्ट पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् ।

ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत स्वशासित क्षेत्रको जनकांग्रेसका स्थायी कमिटि अध्यक्ष लुसाङ जियाङसुन साङले भेटवार्ता गरेका हुन् ।

तिब्बतको साकायर होटलमा बसेका ओलीसँग चिनियाँ नेताको भेटवार्ता भएको र भेटवार्तापछि ओलीको सम्मानमा रात्रिभोज समेत आयोजना गरिएको स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

यसअघि ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले औपचारिक भेटवार्ता गरेका थिए । सांग्रिला होटलमा आयोजित बैठकमा ओलीले वान बेल्ट वान रोडमा नेपाल आबद्ध भएपछि नेपालले रेलवे, सडक, व्यापार, पर्यटन, ऊर्जा तथा लगानी लगायतमा विविध क्षेत्रमा चीनबाट ठूलो सहयोग प्राप्त हुने आशा गरेको बताए ।

ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएको र १५ बुँदे संयुक्त वक्तव्य स्मरण गर्दै सम्झौताहरु कार्यान्वयन गराउनका लागि नेपालको उत्तरी सीमा जोडिएको स्वशासित क्षेत्र तिब्बत सरकारको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले सहयोगका लागि ओलीले आग्रह गरेको बताइएको छ । ।

साउन ७ गते मानवसरोबरको यात्रामा निस्किएका ओलीलाई तिब्बत सरकारका सहायक अध्यक्ष लो मई तथा तिब्बत जनकांग्रेसका अध्यक्ष चु च्यानह्वाले ल्हासाको गोंगर विमानस्थलमा स्वागत गरेका थिए ।

मानसरोबरको सफल यात्रापछि ओलीलाई त्यहाँका चिनियाँ कम्युनिष्ट पार्टीका उपमहासचिव तथा आली प्रिफेक्चरका कमिस्नर श्री फङ छोरले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।

ओली आजै मध्याह्न एयर चाइनाको उडानबाट स्वदेश फर्किंदैछन् ।

तपाइको मत