काठमाडौं । वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।
एमाले संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रसहितका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजक समितिको बैठकमा यस्तो आशंका व्यक्त भएको हो ।
बैठकले निर्धारित मितिमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई भेटेरै दबाब दिने निर्णय गरेको छ ।
एमाले, माओवादी केन्द्रसहित नयाँ शक्ति नेपाल पार्टीबीच गठबन्धन भएपछि कांग्रेस आत्तिएकाले निर्वाचन नगराउन सक्ने आंशका गरिएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए ।
‘प्रगतिशील र वामपन्थी शक्ति मिलेर यो देश जोगाउने र समृद्धि कायम गर्न नेपालको संविधान र कानुनबमोजिम चल्दा पनि तथानाम किसिमले बदनाम गर्दैछन्,’ गौतमले बैठकपछि भने, ‘यसले के देखाउँछ भने अहिले नेपाली कांग्र्रेसको स्थिति ज्यादै कमजोर छ, अत्तालिएको छ र हत्तासिएको अवस्थामा पुगेको छ ।’
गठबन्धन अत्यधिक सिट संख्यासहित विजयी हुन सक्ने अवस्था देखिएकाले कांग्रेसले निर्वाचन गराउन नसक्ने आंशका गर्दै छलफल भएको हो । बैठकमा माओवादीका मन्त्री बर्खास्त गर्नेदेखि अन्य असंवैधानिक काम हुन सक्ने भन्दै सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेटेर नै ध्यानाकर्षण गराउने निर्णय भएको नागरिक दैनिकमा खबर छ ।