राष्ट्रको कुनै निश्चित परिभाषा हुँदैन्
५ भदौ ०७४, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले राष्ट्रको कुनै निश्चित परिभाषा नहुने बताएका छन् ।
सोमबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि भइरहेको छलफलमा राष्ट्रलाई कुनै गुट विशेषले, समूह विशेषले यही हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रका सुरक्षाका नाममा उसले विघटन जन्माउँने भन्दै नेता गिरीले राष्ट्रको कुनै निश्चित परिभाषा नहुने बताएका हुन् ।
‘राष्ट्रको कुनै निश्चित परिभाषा हुँदैन, नेता गिरीले भने, ‘राष्ट्रलाई कुनै गुट विशेषले, समूह विशेषले यहि हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रका सुरक्षाका नाममा उसले विघटन जन्माउँछ ।’
भूगोल विना पनि राष्ट्र बाँच्न सक्छ
नेता गिरीले भूगोल विना पनि राष्ट्र बाँच्न सक्ने बताएका छन् ।
‘राष्ट्रका लागि भाषा पनि महत्वपूर्ण हुन्छ, संस्कृति पनि महत्वपूर्ण हुन्छ, भूगोल चाहिन्छ । तर, तपाईहरुलाई थाहा छ, भूगोल नभएका पनि राष्ट्र छ’ नेता गिरीले भनेका छन्, ‘लामो समयसम्म यहुदीहरुको आफ्नो राष्ट्र नै थिएन । आज पनि यहुदीहरुको संघर्षमा भाग लिएका प्यालेस्टायनीहरुको आफ्नो भौगोलिक राष्ट्र छैन । भूगोल विना पनि राष्ट्र बाँच्न सक्छ, भाषा विना पनि बाँच्न सक्छ । भाषाले मात्र पनि बाँच्दैन ।’
यसैगरी राष्ट्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा सँगसँगै बस्ने, सँगसँगै बाँच्ने भएको उनले बताए ।
‘राष्ट्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा सँगसँगै बस्ने, सँगसँगै बाँच्ने, सँगसँगै डुब्ने र सँगसँगै पार हुने इच्छा हो’ नेता गिरीले भने, ‘राष्ट्रका बारेमा सबैभन्दा पहिले ऐतिहासिक मान्य ग्रन्थ लेख्ने व्यक्तिले आजभन्दा डेढ सय वर्ष पहिले लेखेका थिए, सबै परिभाषा दिन्छु, भाषा पनि चाहिन्छ, जाति पनि चाहिन्छ, इतिहास पनि चाहिन्छ, एतिहासिक स्मृति पनि चाहिन्छ । तर, सँगसँगै बस्ने तिमीहरुको इच्छा र आकांक्षा छ कि छैन, त्यो सबैभन्दा बढी चाहिन्छ भनेका थिए ।’
संशोधनको पक्षमा भोट
उनले संविधान संशोधनको पक्षमा मतदान गर्ने बताएका छन् ।
‘म के भन्न चाहन्छु भने यो संशोधन पास हुन्छ हुँदैन थाहा छैन’ उनले भने, ‘म संशोधनको पक्षमा भोट दिन्छु । यो संशोधन सिंगो राष्ट्रलाई सन्देश हो, यो सरकार तीन करोड नेपाली जनतासँग सँगै बसेर, सँगै डुबेर, सँगै पौडी खेलेर बाँच्न चाहन्छ । यो संशोधनको अरु अर्थ छैन । यसको धारा धाराको अर्थ छैन । यसको एउटै अर्थ छ, हामी तीन करोड नेपाली छुटि्टन चाहँदैनौं । छुट्याउन चाहने शक्तिलाई यो एउटा जवाफ हो ।’
गोइत र राउतहरु खेल्दै
नेता गिरीले गोइत र राउतहरुले राष्ट्रवादको खेल खेलिरहेका रहेको बताए ।
‘छुट्याउँछु भन्ने मान्छे पनि छन्’ उनले भने, ‘नामै लिन्छु, गोइतजी हुनुहुन्छ, राउतजी हुनुहुन्छ । यसलाई छुट्याउन दिन्नौं, छुट्याउन दिन्नौं भनेर छुटि्टन नचाहने शक्तिलाई पनि त्यही समूहमा गाम्भ चाहने शक्ति पनि राष्ट्रवादको खेल खेलिरहेका छन् ।’
‘छुटि्टन चाहने समूहलाई, राष्ट्रवादको नाममा औलो देखाउने समूहलाई यो संशोधन ‘जवाफ’ हो । संशोधनको मर्म मैले यसरी बुझेको छु’ नेता गिरीले भनेका छन् ।
प्रधानमन्त्रीले भारत सरकारसँग कुरा उठाउनु पर्छ
भारतले बाँध लगाएकाले नेपाल डुवानमा परेको हो भने प्रधानमन्त्रीले भारत भ्रमणकाक्रममा भारत सरकारसँग कुरा उठाउनु पर्ने काँग्रेस नेता गिरीले बताएका छन् ।
‘जाँदा जाँदै एउटा कुरा भन्न चाहन्छु, भारतले आफ्नो पक्षमा बाँध लगाएकाले नेपाल डुवानमा परेको छ । मलाई त्यसको प्राविधिक पक्षको ज्ञान छैन । हो, होइन यसै भन्न सक्दिनँ । तर, त्यो हो भने प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक बुझेर भारत सरकारसँग कुरा उठाउनुपर्छ, उठाउनुहुन्छ भन्ने मलाई विश्वास छ’ नेता गिरीले भने ।
विरोधीले फ्याकेको ढुङ्गालाई जम्मा गरेर घर बनाउन सुझाव
काँग्रेस नेता गिरीले महेन्द्रकालीन राष्ट्रवादले अब काम नगर्ने भन्दै विरोधीले फ्याकेको ढुङ्गालाई जम्मा गरेर घर बनाउन सुझाए ।
‘राष्ट्रवादका नाममा भारतले हात्ती पठाइदियो, गोमनसाप पठाइदियो, भारतले भुइँचालो पठाइदियो भन्ने प्रवृत्ति गरेर राणाकालीन र महेन्द्रकालीन राष्ट्रवादले कल्याण गर्दैन’ उनले भनेका छन्, ‘प्रत्येक विपत्तिलाई अवसर बनाउनु पर्छ । महान राजनीतिज्ञ त्यो हो, जसले विरोधीले फ्याकेको ढुङ्गालाई जम्मा गरेर घर बनाउँछ ।’