१६ फागुन ०७४, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच कार्यगत एकता भएको छ ।
मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा क्रान्तिकारी माओवादीकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर प्रश्न उब्जिएकाले एकता गरेर अघि बढ्ने उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको चार बुँदे सहमतिमा फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ ।
यस्तै, विज्ञप्तिमा देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीको खेद व्यक्त गर्दै संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने जनाइएको छ ।
नेकपा क्रान्तिकारी माओवादी चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीले केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिनको लागि कार्यगत एकता गरिएको बताए ।