संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाने सरकारको प्रस्ताव

४ साउन ०७४, काठमाडौं । सरकारले संसदमा विधाराधीन संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाने प्रस्ताव गरेको छ ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी (राजपा) सामू विधेयक अघि बढाउने प्रस्ताव गरेका हुन् । तर, राजपाले मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु पहिला गर्न माग गरेको छ ।

बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै संशोधन विधेयकलाई मतदानमा लैजाने प्रस्ताव राखे । माओवादी अध्यक्ष प्रचण्डले पनि देउवाको प्रस्तावमा समर्थन गर्दै राजपा नेताहरुको राय मागेका थिए ।

तर, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगै राजेन्द्र महतो र अनिल झाले सत्तारुढ दलको प्रस्तावमा सहमति जनाएनन् ।

बैठकमा सहभागी एक नेताले भने, ‘महन्थ ठाकुरले पहिला सरकारले गर्नु पर्ने कामहरु गर्नुस्, अनि मात्र संशोधनको कुरा गरौंला भनेका छन् ।’

लगतै माओवादी नेता नारायणकाजी श्रेष्ठले मुद्दा फिर्ता, कार्यकर्ता रिहाई, घाइतेलाई क्षतिपूर्ति र सहिद घोषणामा भइरहेको गृहकार्यबारे जानकारी गराए । उनले यसलाई तत्काल अघि बढाउने बचन दिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

कांग्रेस नेता डा. रामशरण महतले संविधान संशोधन अघि बढाइने तर, पास फेलको ग्यारेन्टी गर्न नसकिने बताएका छन् । उनले भने, ‘सरकारले इमान्दारिपूर्वक प्रयास गर्ने हो । तर, अहिले नै ग्यारेन्टी गर्न सकिँदैन ।’

तपाइको मत