समितिको बोर्ड हटाएर मधेश सरकार लेख्दै तालाबन्दी :सीमांकनसहित समस्या समाधान नभए अवरोध जारी रहने
५ चैत्र, राजबिराज । स्थानीय तह नयाँ संरचना अनुसार काम गर्ने भनिए पनि मधेश केन्द्रति दलहरुको अवरोध र विरोधका कारण सप्तरीमा स्थानीय निकाय पुनःसंरचना कार्यान्वयनमा समस्या र चुनौति देखिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबारदेखि जिल्ला समन्वय समिति, स्थानिय विकास अधिकारीको कार्यकक्ष, जिविसको प्रशासन कक्ष, राजविराज नगरपालिकाको कार्यकारी अधिकृत कक्ष तथा प्रशासन फाँटमा तालाबन्दी गरेपछि समस्या देखिएको हो ।
मोर्चाका कार्यकर्ताले जिल्ला समन्वय समितिको साइनबोर्ड हटाउनुका साथै जिल्ला विकास समितिको बोर्डमा लेखिएको नेपाल सरकार मेटेर “मधेश सरकार” लेखेका छन् ।
मधेश र मधेशीको भावना बुझ्न नसकेको र आफूहरुको सहमति बिना जबरजस्ती निर्वाचन गराउन खोजिएकाले तालाबन्दी गरिएको मोर्चाको भनाई छ ।
संविधान संशोधनमार्फत् सीमांकनसहितका समस्या समाधान नभएसम्म स्थानीय तह पुनःसंरचना स्वीकार नगर्ने र चुनाव पनि हुन नदिने मोर्चाले चेतावनी दिएका छन् ।
स्थानीय तह नयाँ संरचना अनुसार काम गर्ने प्रमुखहरुकै कार्यकक्ष र महत्वपूर्ण फाँटहरुमा ताला लागेपछि जिल्लामा स्थानीय निकायको पुनः संरचना कार्य प्रभावित बनेको योजना अनुगमन तथा प्रशासकीय अधिकृत धीरेन्द्र कुमार यादवले बताए ।
सप्तरीमा ९ गाउँपालिका र ८ नगरपालिका तोकिएको छ । तोकिएको संरचनाका विषयमा समेत स्थानीय तहमा ठूलो विवाद छ । फत्तेपुर, तोपा, इटहरी विष्णुपुर लगायत आधा दर्जन स्थानका बासिन्दाले आफूहरुलाई अन्यमा समावेश गरिएको भन्दै निरन्तर विरोध कार्यक्रम गर्दै आएका छन् ।