सर्वोच्चद्वारा पूर्वप्रधानन्यायाधीश कार्कीको निर्णय खारेज

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय उल्टाइदिएसँगै कार्कीको निर्णयले अवकाशप्राप्त उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातको पुनर्वहाली भएको छ ।

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति सच्याएर विवादमा परेको रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय उल्टाइदिएको अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

विनाप्रमाण हचुवाका भरमा जन्ममिति सच्याएका कारण मानवअधिकार, सामाजिक मर्यादा र सेवामा आघात पुगेको भन्दै बस्न्यातले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध माघमा सर्वोच्चमा रिट दिएका थिए ।

न्यायपरिषद् अध्यक्ष रहेकी कार्कीको एकल निर्णयमा बस्न्यातको जन्ममिति सच्याउने निर्णय भएको थियो । बस्न्यातले आफ्नो वास्तविक जन्ममिति २०११ साल असार १९ गते रहे पनि सच्याएर २०१० साल फागुन १८ गते बनाइएको दाबी सर्वोच्चमा गरिएकाे थियो ।

सर्वोच्चका न्यायाधीश दीपक कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले बस्न्यातको जन्ममिति ०११ साल असार १९ गते कायम हुने गरी निर्णय दिएको हो ।

‘बस्न्यात श्रीमानकाे उमेरका विषयमा भएको निर्णय बदर भएको छ । अब उहाँ अवकाश हुने उमेर असार १९ गते कायम भएको छ’, फैसलापछि सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले अन्नपूर्णसँग भन्नुभयो, ‘अब उहाँ साविक पदमा पुनर्बहाली हुनुहुनेछ ।’

बस्न्यातले कार्कीको निर्णयलाई चुनौती दिँदै प्रमाणका रूपमा नागरिकता, नोकरी विवरण (सिटरोल), शैक्षिक योग्यताको प्रमाणपत्र, कर्मचारी सञ्चय कोषको प्रमाणपत्र, नागरिक लगानी कोषको प्रमाणपत्र, राहदानी, सवारी चालक, अनुमतिपत्र, शान्ति विद्यागृह हाइस्कुल लैनचौरबाट प्रदान गरिएको प्रमाणपत्रलगायत प्रतिलिपि सर्वोच्चमा बुझाउनुभएको थियो ।

कार्कीबाट बस्न्यातको जन्ममिति ०१० साल फागुन १८ कायम गरी परिषद्को अभिलेखमा राख्ने गरी ०७३ साल पुस १ मा निर्णय भएको थियो ।

बस्न्यातलाई आइतबारदेखि नै कामकाज गर्ने व्यवस्था मिलाउनसमेत न्याय परिषद् सचिवालयका नाममा परमादेश जारी भएको छ ।

 

तपाइको मत