साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा मतगणना हुन सकेन

१६ असार ०७४, अछाम । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा अझै मतगणना शुरु भएको छैन ।

असार १४ गते मतदानकाे दिनदेखि नै विवादमा रहेको अछामकाे साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा काँग्रेस र एमालेकाे विवादका कारण मतगणना शुरु नभएको हाे ।

साँफेबगर नगरपालिकाको रिडिकोटमा नेपाली कांग्रेस र भागेश्वर मतदान केन्द्रमा एमालेले कब्जा गरेको आरोप एक अर्का दलले आरोप लगाएपछि विवाद भएको छ ।

उता चौरपाटी गाउँपालिकाको पायलमा रहेको वैजनाथ मावि केन्द्रमा नेकपा एमालेले कब्जा गरेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको आरोप छ ।

साँफेबगर र चौरपाटीमा पटक-पटक सर्वदलीय बैठक बस्दा समेत सहमति हुन सकेको छैन ।

चौरपाटी र साँफेबगर नगरपालिकाका निर्वाचन अधिकृतले निर्वाचन आयोगको निर्णय पर्खिएका छन् ।

ती दुई पालिकामा दलहरुबीच सहमती नहुँदा मतगणनाको निर्णय निर्वाचन आयोगमा पुगेको छ । ‘आयोगको निर्णय कहिले आउँछ थाहा छैन, छिट्टै आउनुपर्ने हो,’ साँफेबगर नगरपालिकाका निर्वाचन अधिकृत पूर्ण रिजालले भने ।

दलहरुबीचको असहमतिलाई बिहीबार नै दुबै पालिकाका निर्वाचन अधिकृतले निर्वाचन आयोगमा लिखित रुपमा पठाइदिएका थिए ।

शुक्रबार बिहान ८ बजेसम्म आयोगको निर्णय आउने भनिएपनि हालसम्म कुनै जानकारी नआएको अधिकृत रिजालको भनाइ छ । साँफेबगर नगरपालिकामा मत गणनाका लागि तोकिएका केही कर्मचारीहरु घर फर्किसकेका बताइएको छ ।

 

तपाइको मत