२५ पुस, काठमाडौं । भौतिक योजना तथा निर्माण पूर्वराज्यमन्त्री एवं निलम्बित सांसद संजयकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले सोमबार साहविरुद्ध विशेष अदालतमा साहको ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र स्रोत नखुलेको दाबीसहित मुद्दा दायर गरेको हो ।
अख्तियारले ३१ करोड ५० दाख २६ हजार ५५९ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ ।
साथै, साह सांसद, पूर्व राज्यमन्त्री समेत रहेकाले राष्ट्रसेवक एवं पदाधिकारी समेत रही कुसर गरेकाले ऐनको दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ ।
अख्तियारले साहका साथै उनका बाबु साधु साह सुडी, आमा दुलारी, श्रीमती रंगिला, भाइ रामकुमारको कम्पनी तथा व्यवसायिक फर्मका कर्मचारी राममिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलमको नाममा समेत सम्पत्ति लुकाएको देखिएको अख्तियारको दाबी छ ।
भ्रष्टाचार निवारण ऐको दफा ४७ र अख्तियार ऐन २०४८ को दफा २९ (ख) बमोजिम जफतको माग गर्दै उनीहरु उपर पनि मुद्दा दायर भएको छ ।
निलम्बित सांसद संजयकुमार साह जनकपुर बम काण्डमा जेलमा छन् ।