१० असार ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युतभार कटौती अन्त्य गर्न आग्रह गरेका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्किएपछि अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङसँग सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गर्न आग्रह गरेका हुन् ।
चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुग्नुभएका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युत्भार कटौती मुक्त अभियान चलेपनि सुदूरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।
स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौँ फर्केलगत्तै विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।
प्रदेश नं ७ को सुदूरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।