२३ असार ०७४, काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म ३२५ स्थानको मतगणना सकिएको छ ।
दोस्रो चरणमा चुनाव भएका ३४ मध्ये २९ जिल्लाका सबै स्थानीय तहको अन्तिम मतपरिणाम अाएको छ । अब ५ जिल्लाका ९ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ ।
झापाका तीन, मोरङ र कञ्चनपुरका दुर्इ/दुर्इ तथा कैलाली र सुनसरीका एक/एक स्थानको अन्तिम मत परिणाम अाउँन बाँकी रहँदा एमाले १४६ जित र ६ अग्रताका साथ दोस्रो चरणमा पनि पहिलो पार्टीको रूपमा दरिइसकेको छ ।
अहिलेसम्म एमालेले प्रदेश नम्बर १ मा ६६, ५ मा ४३ र ७ मा ३७ स्थानमा विजय हासिल गरेको छ । त्यस्तै प्रदेश नम्बर १ मा ४ र ७ मा २ स्थानमा एमालेको अग्रता छ ।
२८ सिट कम जितेको कांग्रेस ११८ स्थानमा जित हासिल गरेर दोस्रो चरणमा पनि दोस्रो पार्टी बनेको छ । कांग्रेसले प्रदेश नम्बर १ मा ४८, ५ मा ३३ र ७ मा ३७ सिट जितेको छ । उसले प्रदेश नम्बर १ मा ३ र ७ मा एक स्थानमा अग्रता लिइरहेको छ ।
३८ स्थानमा मात्र जित हासिल गरेको माअोवादी केन्द्र तेस्रो स्थानमा छ । उसले प्रदेश नम्बर १, ५ र ७ मा क्रमश: ९, १९ र १० स्थानीय तहमा जित हासिल गरेको छ ।
दोस्रो चरणको स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम चाैथाे शक्तिको रूपमा देखिएको छ । उनले ८ स्थान जितेको छ । फोरमले सबैभन्दा राम्रो नतिजा रूपन्देहीबाट ल्याएको छ । यस जिल्लामा उसले चार स्थानीय तह जित्दै एमालेपछिको ठूलो पार्टी बनेको छ ।
६ स्थान जितेको फोरम लोकतान्त्रिक पाचाैं शक्तिको रूपमा देखिन्छ । उसले प्रदेश नम्बर १ मा ३, ५ मा १ र ७ मा २ स्थानमा विजय हासिल गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र झापाका तीन गाउँपालिका जितेको राप्रपा दोस्रो चरणामा छैटाैं स्थानमा छ । प्यूठानका २ स्थानीय तह जितेको राष्ट्रिय जनमोर्चा साताैं स्थानमा छ ।
चुनाव बहिस्कार गर्ने केन्द्रीय नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टीका नेताले पनि रूपन्देही र कपिलवस्तुका एक एक स्थानीय तहमा जित हासिल गरेका छन् । अर्का एक स्वतन्त्रले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा जित हासिल गरेका छन् ।