१६ पुस०८१, काठमाडौं । कारबाहीमा परेका एमाले नेता डा. भीम रावलले पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई पार्टीमा रहँदा गरिएका व्यवहारहरू प्रतिशोधपूर्ण भएको गुनासो गरेका हुन् ।
मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको पनि उनको आरोप छ ।
पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेका उनले भने, ‘शंकर पोखरेललाई ०७८ साल वैशाखमा सेना परिचालन गरेर स्थायी कमिटी बैठकबाट मनाङमा पार्टीको उम्मेदवार बनाएका व्यक्तिलाई मनपरी किसिमले नाम फिर्ता गराएर दीपक मनाङे राजीव गुरुङलाई त्यहाँ निर्वाचन गराउने र पछि गण्डकी प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र ?,’ रावलले प्रश्न गरेका छन् ।
साथै, उनले कोशी प्रदेशमा परमादेशको आधारमा सरकार बनाउन लगाएको पनि जिकिर गरे ।
‘०७७ साल माघमा संवैधानिक आयोगमा तपाईंले गर्नुभएको प्रतिनिधिसभाको विघटनलाई संविधान विरोधी ठहर गर्दै बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो । तर कोही प्रदेशमा परमादेशको आधारमा किन सरकार बनाउन लगाउनु भयो ?,’ रावलले प्रश्न गरेका छन् ।













