२९ भदौ ०८१, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुखलाई हटाउने योजनाबाट पछि हट्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उपसभामुख इन्दिरा रानाले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताउँदै उनले भने, ‘उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानुहुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्नुहुन्छ होला ।’
उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो भने नेपाली कांग्रेसले उपभामुखको राजीनामा माग गरेको छ ।













