१४ कार्तिक ०८१, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ जनाएको छ ।
एक सूचना जारी गर्दै प्रशासनले तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने बताएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।
प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ ।
प्रशासनले तोकेको समय भन्दा बढी देउसी भैलो खेलेको तथा अन्य गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचना उल्लेख गरिएको छ ।













