१० माघ ०८१, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि भूउपग्रहमा आधारित ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली लागू भएको छ ।
भिजिबिलिटी समस्या समाधान गर्न आरएनपी–एआर) प्रणाली लागू गरिएको हो ।
विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ ।
हाल यान्त्रिक विधि (आईएफआर) मा उडान गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी १ हजार ८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९ सय मिटर भिजिबिलिटी भए जहाज उडान र अवतरण गर्न सक्नेछन् ।
भिजिबिलिटी र अन्य कारण देखाउँदै मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए । नेपाल एयरलाइन्सले भने काठमाडौं– भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ ।













