
२२ असोज ०८१, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रिय सचिव रमेश नेपालले नेपाल टेलिकमलाई कानुन विपरीत कार्य नगर्न नगराउन चेतावनी दिएका छन् ।
नेपाल टेलिकमले श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन विपरीत सेक्युरिटी मजदुरको उमेरहद ५८ वर्षबाट एकैचोटी ५० वर्ष कायम गर्दै कुनैपनि राजनीतिक पार्टी, महासंघ र संघको सदस्य बन्न नपाउने सिलबन्दी बोलपत्र पास गरेपछि उनले टेलिकमलाई यस्तो चेतावनी दिएका हुन् ।

सेक्युरिटी मजदुरका केन्द्रिय सचिव एवम् श्रम तथा सामाजिक सुरक्षा विभाग प्रमुख रमेश नेपालको नेतृत्वमा युवा बिभाग प्रमुख कमरेड नारायण कुइकेल, काठमाडौं जिल्ला अध्यक्ष कमरेड ऋषिराम थापा लगायतको उपस्थितिमा आज नेपाल टेलिकम केन्द्रिय कार्यालय भद्रकाली पुगेर ध्यानाकर्षण पत्र दर्ता गराएका छन् ।
हाकाहाकीसँगको संक्षिप्त कुराकानीका क्रममा टेलिकमले मजदुर विरोधी निर्णय नसच्याए संघर्षबाटै सच्याइने सचिव नेपालले चेतावनी दिएका छन् ।
संघले टेलिकमलाई आज ज्ञापनपत्र बुझाएको छ । सोको बोधार्थ बागमती प्रादेशिक निर्देशनालय त्रिपुरेश्वर, श्रम तथा रोजगार कार्यालय टेकु, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय कार्यालय पेरिसडाडा पनि दिएको छ ।
सचिव नेपालले रोजगारदाता र श्रम आपूर्तिकर्तालाई तह लगाउन मजदुर पक्षीय ऐन, कानुन कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै मजदुर विरोधी बुँदाहरु खारेजको संघर्ष गर्नुपर्ने साथै कैयन बुँदाहरु मजदुरको हकहितमा हुनेगरी संशोधन गर्नुपर्नेमा समेत जोड दिए ।













