११ माघ ०८१, काठमाडौं । भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी करको दायित्व बढाएको आरोपमा सीआईबीले पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डेलाई पक्राउ गरेको हो ।
पराजुली र पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवनबाट पक्राउ गरेको जानकारी दिँदै सीआईबी प्रवक्ता तथा एसपी सुधीरराज शाहीले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा उनीहरुले पहुँच पु¥याई करको दर हेरफेर गरेको विषयमा पक्राउ परेको बताए ।
सिस्टम ह्याक गरेर उनीहरूले भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर भन्दा बढी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी देखाएको खुलेको छ ।
उनीहरूबाट ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामद भएको छ ।













