भद्रपुर उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट

२२ पुस ०८१, काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका हुन् ।

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ ।

यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।