
२५ भदौ ०८१, महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ ।
बैठक सुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । उनले रुपान्तरण संभव भएको र यसको विकल्प नरहेको बताए ।
‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छ्न, संविधानमाथि हमला हुन्छ,’ उनले भने, ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।’
अध्यक्ष प्रचण्डले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताएका छन् ।
आज र भोलि चल्ने सो बैठकमा सहभागीहरुका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।













