माओवादी एकीकृत गर्नेबित्तिकै तागत निकै ठूलो हुनेवाला छ – प्रचण्ड

५ असोज ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी माओवादीहरू ढिलो नगरी एकताबद्ध हुनुपर्ने बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालको १५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीसँग हजारौं महान् राष्ट्रिय शहीदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ । अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय सम्भव छ ।’

संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताए ।