११ कार्तिक ०८१, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन आग्रह गरेको छ ।
निकुञ्जले यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेको भन्दै आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताएअनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन् ।
उनले हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासनले आग्रह गरेको बताए ।













