
काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्बन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।
नीति अनुसन्धान प्रतिष्ठान नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २८, २९ र ३० गते सेमिनार हुने जानकारी दिएको हो ।
उक्त सेमिनारमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू सहभागी हुने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए ।
कार्यक्रममा म्यानमारलगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी विभिन्न प्रस्तुति दिने छन् ।
विभिन्न देशका विज्ञहरूको सहभागिता रहने कार्यक्रममा २५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुने साथै सेमिनारको अन्त्यमा काठमाडौं घोषणापत्र जारी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्र प्रकृति संरक्षण कोषको सभागृह, खुमलटार, ललितपुरमा भाद्र २८ गते हुनेछ भने भाद्र २९ र ३० गते प्राविधिक सत्रहरू सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष डा. प्रेमराज न्यौपानेले बताए ।
सेमिनार नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), राष्ट्रिय प्रकृति संरक्षण कोष, एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद, भारतीय प्रबन्ध संस्थान शिलोंग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको संयुक्त आयोजनामा हुनेछ ।













