२३ असोज ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गर्न जोड दिनुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले बुधबार सम्पादकहरूसँगको भेटमा आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको बताएका हुन् ।
‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन कार्यान्वयन हो,’ अध्यक्ष प्रचण्डले भने ।
प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्दै गर्दा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच गत असार १७ गते मध्यराति भएको समझदारीमा संविधान संशोधन गर्ने विषय समावेश छ ।
संघीयता कार्यान्वयनका लागि संघीय निजामति ऐन संशोधन भएको छैन । यो प्रशासनिक संघीयतासँग सम्बन्धित छ । मुलुक संघीयतामा गएको एक दशक हुँदा समेत संघीय निजामति प्रशासन केन्द्रीकृत संरचनामै छ ।
यस्तै नेपाल प्रहरी प्रदेश प्रहरीमा समायोजन हुन सकेको छैन । यो संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण पक्ष हो । प्रहरी समायोजन ऐन बनेर पनि प्रहरी समायोजन हुन सकिरहेको छैन ।
संघीयता कार्यान्वयनसँग जोडिएको विद्यालय शिक्षा विधेयक संसदमा बिचाराधीन अवस्थामा छ ।
यो अवस्थामा संविधान कार्यान्वयन गर्न आवश्यक ऐन बनाउनु पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड रहेको छ ।













