सोलुखुम्बुको थामेमा बाढी पस्यो, एकजना बेपत्ता, ७ घर पूर्णरुपमा क्षति

३२ साउन ०८१, विराटनगर । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका–५ स्थित थामेमा दिउँसो आएको बाढीले ठूलो क्षति पु-याएको छ ।

शुक्रबार दिउँसो आएको ठूलो बाढीले ७ वटा घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार एउटा विद्यालय, पाँच वटा होटल र एउटा क्लिनिक क्षतिग्रस्त भएको छ ।

प्रहरीले ७ वटा घर अति जोखिममा रहेको र अन्य घरमा पनि पानी र लेदोसहितको बाढी पसेको बताएको छ । यस्तै बाढीमा एक जना बेपत्ता भएको साथै खोजी कार्य जारी रहेको जनाएको छ ।

प्रहरीले बाढीमा फसेका पाँच जना मानिसका साथै पशुचौपायको उद्दार गरेको बताएको छ ।

सोलुखुम्बुका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार पर्यटकीय क्षेत्र थामेमा यतिबेला अफ सिजन भएका कारण मानिसको चहल पहल कम भएकाले मानवीय क्षति टरेको बताए ।