अहिंसा र शान्तिका प्रतीक गौतम बुद्धप्रति आस्था प्रकट
८ जेठ, लुम्बिनी । आज शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती अहिंसा र शान्तिका प्रतीक गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइयो । साथै, लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जयन्ती समारोहमा दशबुँदे घोषणापत्र सार्वजनिक गरिएको छ ।
सरकारले काठमाडौंमा ६ र ७ गते बौद्ध सम्मेलन आयोजना गरेको तेस्रो दिन लुम्बिनीमा आयोजित समारोहमा झण्डै ५० हजार स्वदेशी विदेशी पाहुनाहरु सहभागी भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले बताए ।
समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न २८ देशका बुद्ध विद्धान्, भिक्षुहरुको सहभागिता रहेको थियो ।
पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली
तर, आजकै दिन सिराहाको लहान न.पा. १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ । राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जनविस्वासका कारण बली चढाउन राजदेवी मन्दिरमा भिडभाड छ ।
लहान बजारदेखि करिब ६ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर छ । यो मन्दिरमा पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आएको मन्दिरका मूल पुजारी लक्ष्मीबहादुर भट्टले बताए ।
राजदेवी पञ्चावती मन्दिरलाई बाराको गढीमाई मन्दिरपछि दोश्रो ठूलो संख्यामा पशुपंक्षीको बली दिइने मन्दिरको रुपमा चिनिन्छ । स्थानीय वीरेन्द्र चौधरीकाअनुसार विगतका बर्षहरु भन्दा यो वर्ष भीड बढी छ । गत बर्ष १४ हजार बोकाको बली चढेको थियो भने यस वर्ष २० हजारको हाराहारीमा पुगेको छ ।